काठमाडौँ- सहिद स्मारक ए डिभिजन लिगको १२ औं चरण (शनिबार) बाट सुरु हुँदैछ। आज सुरुवाती दुई खेल हुनेछन्। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने पहिलो खेलमा फ्रेन्ड्स क्लब र च्यासल युथ क्लबले प्रतिस्पर्धा गर्नेछन्। याे खेल दिउँसो १ बजे सुरु हुनेछ।
फ्रेन्ड्स र च्यासलका लागि याे खेल महत्वपूर्ण छ। दुबै टोली रेलिगेसनबाट जोगिन जित्नैपर्ने दबाबमा छन्। ११ खेलमा ७ अंक जोडेर १२ औं स्थानमा रहेको फ्रेन्ड्स च्यासललाई हराएर रेलिगेसनको दबाबबाट माथि निस्कन चाहन्छ। ११ खेलमा ६ अंक जोडेर पुछारमा रहेको च्यासले याे खेलमा हार ब्यहोरे रेलिगेसनमा पर्ने निश्चित छ, त्यसैले उसलाई रेलिगेसनकाे डर कम गर्न जित्नै पर्ने दबाब छ।
साँझ पाैने पाँचबाट दशरथ रंगशालमै हुने दोस्रो खेलमा लिग विजेता बनिसकेकाे मछिन्द्र फुटबल क्लबले थ्रिस्टार क्लबकाे सामना गर्नेछ। ११ खेलमा २९ अंक जोडेर शीर्ष स्थानमा रहेको मछिन्द्र थ्रिस्टारलाई हराएर अपराजित यात्रा कायम राख्ने साेचमा छ। ११ खेलमा १८ अंक जोडेर चौंथो स्थानमा रहेको थ्रीस्टार पनि मछिन्द्रलाई हराएर दोस्रो स्थानमा उक्लन चाहन्छ।