प्रधानमन्त्री केपी शर्मा ओलीले एक जना शिक्षकले सामाजिक सञ्जालमा आफूलाई गाली गरिरहेको भन्दै चित्त दुखाएका छन्

प्रधानमन्त्री केपी शर्मा ओलीले एक जना शिक्षकले सामाजिक सञ्जालमा आफूलाई गाली गरिरहेको भन्दै चित्त दुखाएका छन्। सूचना प्रविधि दिवसका अवसरमा शुक्रवार आयोजित समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन्। 

‘हिजो एक जना शिक्षकले भन्दै गरेको मैले सुनेँ। मलाई त गाली गरिरहनुभएको थियो, किन गर्नुभयो मैले त बुझिनँ,’ प्रधानमन्त्री ओलीले भने, ‘बेस्सरी गाली गरिरहनुभएको थियो। उहाँसँग मेरो जिन्दगीमा भेट पनि भएको पनि छैन होला । उहाँले पनि भेट्या छैन होला। तर गाली बेस्सरी गरिरहनुभएको थियो किन गरेको हो थाहा भएन।’ 

ती शिक्षकलाई त्यसरी गाली गर्न ‘कसले सिकायो ? कसले घोकायो ? कसले पढायो होला?,’ भन्दै प्रधानमन्त्रीले प्रश्न गरे । उनले भने, ‘फेसबुक मात्र हेर्नुहुन्छ कि क्या हो? पूरै गाली गरिरहनुभएको थियो।’ 

ती शिक्षकले माध्यमिक शिक्षा परीक्षा(एसइई)मा ४८ प्रतिशत विद्यार्थी उत्तीर्ण हुनु काफी रहेको भनिरहेको पनि प्रधानमन्त्री ओलीले दाबी गरे। 

‘उहाँ भनिराख्नुभएको थियो–४८ प्रतिशत विद्यार्थी एसइईमा पास हुनु भनेको काफी हो, धेरै हो नेपालमा हो,’ उनले भने, ‘५२ प्रतिशत विद्यार्थी फेल हुनुलाई उहाँले सजिलै लिनुभएको छ।’ 

५२ प्रतिशत नेपालका होनहार प्रतिभाहरूको भविष्य एसइईमै चट बनाएर भविष्य खतम पारेको विषयमा शिक्षकहरूले सामान्यीकरण गरेको भन्दै उनले असन्तुष्टि व्यक्त गरे। 

‘एउटा शिक्षकले त्यसरी भनेको..? उहाँहरूको मनोविज्ञान नै त्यो छ, बुझाई नै त्यो छ। ४८ प्रतिशत पास भएर ५२ प्रतिशत फेल भएकामा उहाँलाई आफ्नो काम प्रति हामीले अझ मेहनत गर्नपर्छ, पढाउनुपर्छ भन्ने छैन,’ उनले भने। 

आफू नपढाउने भए पनि नेपाली विद्यार्थीहरू ट्यालेन्ट रहेको प्रधानमन्त्री ओलीले बताए। ‘सबै विद्यार्थीहरू सबै विषयमा उत्तिकै ट्यालेन्ट हुँदैनन्, विषयगत ट्यालेन्ट हुन्छन्। आइटीमा प्रतिभा भएकाहरू अर्को प्रतिभा नहुन सक्छ। गणितमा राम्रो मान्छे, विज्ञानमा राम्रो नहुन सक्छ,’ उनले भने,‘हरेक विधामा सबै राम्रा हुन्नन्। उनीहरूले विधा छान्नै पाएका छैनन्। अवसर पाएकै छैनन्, त्यस्तो अवस्थामा फेल गरेर भविष्य अन्धकार बनाउनु हुँदैन। उनीहरूलाई पढाउनुपर्छ।’ 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×