हामीलाई प्रधानमन्त्रीको ‘रिपोर्ट कार्ड’ चाहियो: शेखर कोइराला

काठमाडौँ - सत्ता साझेदार नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफूहरूलाई प्रधानमन्त्रीको रिपोर्ट कार्ड चाहिएको बताएका छन् । आज (सोमबार) कांग्रेस नुवाकोटको प्रथम जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै उनले प्रधानमन्त्रीले मन्त्रीको रिपोर्ट कार्ड हेर्न खोजेको भन्दै आफूहरूले स्वयं प्रधानमन्त्रीकै हेर्न खोजेको बताएका हुन् ।

‘मैले सुनेको, ५ देखि १० गतेसम्म मन्त्रीजीहरूलाई काठमाडौं नछाड्नु भन्नुभएको छ । रिपोर्ट कार्ड हेर्ने होला । म त प्रधानमन्त्रीको रिपोर्ट कार्ड मागिरहेको छु’, उनले भने । अर्थमन्त्री प्रकाशशरण महतसमेत सहभागी सो कार्यक्रममा कोइरालाले संसदीय व्यवस्थामा अर्थमन्त्रीले राम्रो वा नराम्रो जे गरे पनि त्यसको सबै जस अपजस प्रधानमन्त्रीले लिनुपर्ने बताए ।

‘अनि प्रधानमन्त्रीले मन्त्रीका रिपोर्ट कार्ड लिने ?’, उनले थपे, ‘हामीले प्रधानमन्त्रीको रिपोर्ट कार्ड लिने हो । प्रधानमन्त्री ज्यू, तपाईंको रिपोर्ट कार्ड हामीलाई चाहिएको छ ।’ कोइरालाले अहिले गणतन्त्रमाथि देशैभर ठूलो आक्रमण भइरहेको आफूले पाएको बताए ।

‘जनतामा निराशा र आक्रोश छ। स्वाभाविक हो। त्यो आक्रोश र निराशा गणतन्त्रप्रति होइन, संघीयताप्रति होइन । नेतृत्वप्रति हो भन्ने मलाई लाग्छ’, उनले भने। कोइरालाले आफूहरूले राम्रो काम गर्न थाल्ने हो भने पक्कै पनि गणतन्त्र र राजतन्त्रका कुराहरू नआउने बरु ओझेलमा पर्ने बताए ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×