काठमाडौँ - सरकारलाई चालु आर्थिक वर्षको सुरुवातमै स्रोतको अभाव भएको छ। पहिलो महिनाबाटै स्रोत (पैसा) अभाव भएपछि सरकारले ऋण उठाएको छ। साउनमा २० अर्ब रूपैयाँको विकास ऋणपत्र जारी गरेको नेपाल राष्ट्र बैंकले आइतबार थप १० अर्ब रूपैयाँको ऋणपत्र जारी गरेको छ।
गत वर्ष राजस्व संकलन ऋणात्मक हुँदा स्रोतको अभाव झेलेको सरकारलाई चालु आर्थिक २०८०/८१ को सुरुवातमै राजस्वले खर्च व्यवस्थापनमा अपुग भएपछि विकास ऋणपत्रमार्फत सार्वजनिक ऋण उठाउन थालेको हो। आर्थिक वर्षको सुरुमै ऋण उठाएर खर्च व्यवस्थापन गर्नुपर्ने बाध्यतामा सरकार परेको छ। स्रोतमा चाप परेको कारण चालु आवको पहिलो महिना (साउन) बाटै ऋण लिनुपरेको अर्थ मन्त्रालयका राजस्व सचिव डा. रामप्रसाद घिमिरेले बताए। गत वर्ष साउनमा ऋण उठाए पनि यो वर्ष साउनमै ऋण उठाउनुपरेको उनले बताए।
आर्थिक वर्षको पहिलो त्रैमासमा पुँजीगत बजेट खासै खर्च नहुने भएकाले स्रोतमा दबाब नपर्नुपर्ने हो। तर राजस्व संकलन न्यून भई दायित्व बढेपछि सरकारलाई स्रोतको अभाव भएको हो।
नागरिक दैनिकबाट