झोक्किए संस्कृति मन्त्री: संविधानको व्याख्या गर्दा राजीनामा दिनुपर्ने हो?

काठमाडौँ – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले सबै अस्तित्व सम्मान छ भन्दा राजीनामा मागिएको भन्दै आक्रोश व्यक्त गरेका छन्।

मंगलबार काठमाडौँमा आयोजित एक कार्यक्रममा कार्यक्रममा उनले आफ्नो राजीनामा मागेकोप्रति आक्रोश व्यक्त गरेका हुन्। उनले संविधानको व्याख्या गर्दा राजीनामा दिनुपर्ने हो? भन्दै प्रश्न गरे।

उनले राजतन्त्रप्रति इंगित गर्दै अहिले जानेर वा नजानेर मानिसहरुले पुरानो व्यवस्थालाई नै ल्याउन खोजेको बताए। मन्त्री किराँतीले आफ्नो निधारमा मन्त्रीको छाप नरहेको र राजीनामा दिन आफू सधैँ तयार रहेको बताए। उनले आफ्नो लागि धर्म नेपाली, मन्दिर देश र भगवान जनता भएको बताए।

उनले भने, ‘के संविधानको व्याख्या गर्नु नहुने? सबै अस्तित्व सम्मान छ भन्नु नहुने? राजीनामा दिनुपर्ने? के मेरो निधारमा मन्त्रीको छाप छ? म त अहिले दिन तयार छु। यो पदभन्दा देश ठूलो छ। म धर्म मान्छु, मेरो धर्म नेपाली हो, मेरो मन्दिर देश हो, मेरो भगवान जनता हुन्।’

मन्त्री किराँतीले धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङप्रति लक्षित गर्दै नयाँ खोज्ने नाममा राष्ट्रपति र प्रधानमन्त्रीको फोटो हटाइएको बताए।

उनले भावनामा आएर मात्रै देश नचल्ने बताए। मेयर साम्पाङप्रति लक्षित गर्दै उनले मेयरको कार्यालयमा राजाको फोटो झुण्ड्याइएको भन्दै यसरी समाज कता जान्छ? भन्दै प्रश्न गरे।

मन्त्री किराँतीले आफूलाई पशुपतिविरोधी नै बनाउनेहरुले पशुपतिकै नाम जपेर आफ्नो राजीनामा मागे पनि अन्ततः हारेको बताए। उनले पशुपतिनाथको आफूले धेरै सेवा गरेको भन्दै पशुपतिनाथ भगवान नै रहेको बताए।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×