काठमाडौँ - कोरोना कम भएपछि विदेशी भूमिबाट पनि नेपाली चलचित्रको चहलपहल सुरु भएको छ। यसै क्रममा अस्ट्रेलियाबाट नयाँ नेपाली चलचित्र ‘डलर एयूडी’को निर्माण सुरु भएको छ। छायांकनमा जानुअघि यो चलचित्रको काठमाडौंमा निर्माण घोषणा गरिएको छ।
एएसएपी इन्टरटेन्मेन्टले यस चलचित्र निर्माण गर्न लागेको छ। यस चलचित्रमा अर्पण थापा, मेनुका प्रधान, सन्तोष अधिकारीलगायतको मुख्य भूमिका रहने बताइएको छ।
यो चलचित्रलाई देवकुमार श्रेष्ठले निर्देशन गर्ने छन्। फिल्मलाई सन्तोष अधिकारीले निर्माण गर्न लागेका हुन्।
नेपालबाट अस्ट्रेलिया जाने नेपालीको जीवन कथाको विषयमा यो फिल्म निर्माण हुँदैछ। त्यहाँ डलर कमाउन नेपालीले गर्ने संघर्षको आरोह अवरोहको कथा फिल्ममा देख्न पाइने निर्माता अधिकारीको बताएका छन्। यसको सहनिर्मातामा धर्मराज अधिकारी, गंगाराम वाग्ले, अरुण श्रेष्ठ, अञ्जना अधिकारी, तृष्णा गुरुङलगायत रहेका छन्।
फिल्मको कथा सन्तोष अधिकारीले लेखेका हुन्। पट्कथा चे शंकरले तयार पारेका हुन्। अस्ट्रेलियन छायाकार रायको सिनेमाटोग्राफी, मनोरञ्जन श्रेष्ठको सम्पादन, अजयकुमार अधिकारीको गीत, सुरेश राई र सन्तोष मिश्रको संगीत रहने चलचित्रको सम्पूर्ण छायांकन अस्ट्रेलियामा गरिनेछ।