रोल्पा - रोल्पाको रोल्पा नगरपालिका र थवाङ गाउपालिकामा नेकपा (माओवादी केन्द्र)ले विजय हासिल गरेको छ। रोल्पा नगर प्रमुखमा सुरेन्द्र थापा घर्ती र उपप्रमुखमा गीता आचार्य विजयी भएका हुन्।
नगर प्रमुखमा माओवादीका सुरेन्द्र थापा घर्तीले सात हजार ६०३ मत प्राप्त गरी विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका शेरबहादुर थापाले तीन हजार ६५८ मत प्राप्त गरेका छन्। नगर उपप्रमुखमा माओवादीका उम्मेदवार गीता आचार्यले सात हजार ७४१ मत प्राप्त गरी विजयी भएकी हुन्। उनको निकटतम प्रतिद्वन्द्वी कांग्रेसका पुष्पा श्रेष्ठले तीन हजार ७१९ मत प्राप्त गरेकी छन्।
१० वटा वडा रहेको नगरपालिकामा माओवादीले नौ वडा जितेको छ। नगरपालिकाको एउटा वडा भने कांग्रेसले जितेको छ।
त्यसैगरी रोल्पाको थवाङ गाउँपालिकामा माओवादी विजय भएको छ। निकटतम प्रतिद्वन्द्वी स्वतन्त्र उमेदवार दर्जित रोकामगरलाई ६१६ मतान्तरले पछि पार्दै गाउँपालिका अध्यक्षमा माओवादीका ऋषिकेशव बुढामगर निर्वाचित भएका हुन्। उनले २१२२ मत पाउँदा रोकाको पक्षमा एक हजार ५०६ मत आएको थियो।