एजेन्सी - भारतको दिल्ली सरकारले शुक्रबार कोभिड–१९ सँग सम्बन्धित सबै नियन्त्रणका लागि अपनाइएका प्रायःप्रतिबन्धहरूको अन्त्य गर्ने घोषणा गरेको छ।
कोभिड–१९ सङ्क्रमण दरमा कमी आएपछि दिल्ली प्रकोप व्यवस्थापन प्राधिकरण (डीडीएमए) ले उक्त निर्णय लिएको हो।
दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले उक्त निर्णयबारे सामाजिक सञ्जालमार्फत् कोभिड नियन्त्रणका लागि सामाजिक दूरी कायमलगायतका प्रायः सबै प्रतिबन्धलाई हटाइएको बताउनुभएको छ।
उनले भनेका छन्, “प्रतिबन्धले नागरिकहरूले रोजगारी गुमाउनु परेको र यसका कारण कठिन दैनिकीको सामना गरिरहेका छन्। स्थिति सुध्रिएसँगै डीडीएमएले सबै प्रतिबन्ध हटाउने निर्णय गरेको छ। अप्रिल १ देखि दिल्लीमा सबै विद्यालयहरूले विद्यालयमा भौतिकरूपमा उपस्थित भएर अध्ययन गर्नसक्ने उनले बताए।
मास्क नलगाएकोमा जरिवाना गर्ने निर्णयलाई पनि बिस्तारै हटाउने तयारी गरेको बताइएको छ। मुख्यमन्त्री केजरीवालले भन्नुभयो, “डीडीएमएले मास्क नलगाउँनेलाई गरिने जरिवानालाई पनि घटाएर ५०० रुपैयाँ मा सिमित गरेको छ।”
“सबैले कोभिड–१९ वृद्धि नियन्त्रणका लागि स्वतस्फूर्त उचित व्यवहार लाई निरन्तरता दिनुपर्ने छ। सरकारले अवस्थाबारे कडा निगरानी राख्नेछ।”
दिल्लीमा रातिको निषेधाज्ञा सोमबारबाट अन्त्य हुने बताइएको छ। राती घर जाने समय बितेपछि पसल, रेस्टुराँ र व्यापारिक प्रतिष्ठानहरू राती अबेरसम्म खुला रहन सक्नेछन्।
कोभिडजन्य सङ्क्रमणमा कमीपछि भारतको संघीय सरकारले राज्यहरूलाई सामाजिक, खेलकुद, मनोरञ्जन, शैक्षिक र धार्मिक कार्यक्रमका लागि कोभिड–१९ नियन्त्रणसम्बन्धी नियमलाई अन्त्य गर्ने विचार गर्न आग्रह गरेको थियो। साथै उनीहरूको क्षेत्रमा स्थिति अनुसार रातको निषेधाज्ञा घन्टा पनि विचार गर्न आग्रह गरेको थियो।
बिहीबार दिल्लीमा ५५६ जना नयाँ कोभिड–१९ सङ्क्रमित भेटिएको रत्यससँग सम्बन्धित छ जनाको मृत्यु भएको थियो।
संघीय स्वास्थ्य मन्त्रालयले शुक्रबार बिहान सार्वजनिक तथ्याङ्कमा देशभर पछिल्लो २४ घण्टामा १३ हजार १६६ नयाँ सङ्क्रमित भेटिएको र ३०२ सङ्क्रमितको मृत्यु भएको जनाएको छ।