३० करोड अनुदान बाँडेर बाहिरिन पर्यटन मन्त्रीले पठाए अर्थमा प्रस्ताव

काठमाडौँ - संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले जाँदाजाँदै आफूनिकट विभिन्न संघसंस्थालाई ३० करोड रूपैयाँ अनुदानका रूपमा उपलब्ध गराउन अर्थ मन्त्रालयमा प्रस्ताव पठाएका छन्। सामाजिक, धार्मिक, सांस्कृतिक क्षेत्रमा कार्यरत संघसंस्थालाई प्रवद्र्धन गर्ने भन्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले अनुदान दिने गरेको छ। यसरी दिइने अनुदान नियमित भने हुँदैन।

मन्त्री श्रेष्ठले गत साता ७० वटा संघसंस्थाका लागि रकम तोकेरै अनुदान दिन अर्थ मन्त्रालयमा प्रस्ताव पठाएका हुन्। मन्त्रालयका सचिव सुरेश अधिकारले ७० वटा संघसंस्थालाई अनुदान दिन अर्थमा प्रस्ताव पठाएको स्विकारे। ‘हामीले संस्था र अनुदान रकमसमेत तोकेर अर्थमा प्रस्ताव पठाएका छौं’, सचिव अधिकारीले भने, ‘अर्थले अझै सहमति दिएको छैन।’ अर्थले सहमति दिए विभिन्न ७० वटा संघसंस्थालाई अनुदानका रूपमा रकम उपलब्ध गराइने उनले बताए।

मन्त्रालयले प्रतिष्ठान वा संघसंस्थालाई अनुदान रकम उपलब्ध गराउने सम्बन्धमा कार्यविधि तयार पारेको छ। कार्यविधिमा अनुदानका लागि पाँचवटा मापदण्ड बनाइएको छ। मन्त्रालय स्रोतले भन्यो, ‘तर नाम छनोट गर्ने क्रममा मापदण्ड लागु भएको छैन।

विशेषगरी मन्त्रीको स्वविवेक र इच्छामा अनुदान पाउने संघसंस्था छानिएका छन्।’ कार्यविधिको मस्यौदा तयार गर्नुअघि नै मन्त्री श्रेष्ठले अनुदान पाउने संघसंस्थाको सूची तयार गरेका थिए। मन्त्रालयका सचिव अधिकारीका अनुसार अनुदान पाउने संघसंस्थालाई पाँच वर्गमा बाँडिएको छ। मन्त्रालयका प्रवक्ता सहसचिव राजेन्द्र केसीका अनुसार मन्त्रालयबाट अनुदान पाउन ५ सयभन्दा बढी संघसंस्थाले निवेदन दिएका थिए। प्राप्त निवेदनका आधारमा अनुदान पाउने संघसंस्थाको नाम छानिएको केसीले बताए। 
नागरिक दैनिकबाट
 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×