काठमाडौँ - प्रशान्त र पत्नी मार्था एलीले पहिलो सन्तानको रुपमा पुत्रीलाई जन्म दिएका छन्। आफू बुवा बनेको खबर सामाजिक सञ्जालबाट जानकारी गराउँदै प्रशान्तले खुसी बाँडेका छन्।
छोरीको नाम पनि उनले आरिया राखेका छन्। पर्सियन भाषामा आरियाको अर्थ ‘नयाँ’ र अल्बानियाली भाषामा बहुमूल्य धातु सुन र खजाना भन्ने हुन्छ।
‘मेरी सानी राजकुमारीलाई संसारमा स्वागत छ। सबैलाई माया र शुभेच्छाका लागि धन्यवाद,’ उनले लेखेका छन्।
इण्डियन आइडल सिजन ३ का विजेता समेत रहेका प्रशान्त र एयर होस्टेस समेत रहेकी मार्थाले तीन वर्षअघि विवाह गरेका थिए। आफू अभिनित पछिल्लो फिल्म ‘परदेशी २’ प्रचारप्रसारका लागि प्रशान्त दशैंअघि काठमाडौंमा आउने तयारीमा रहेका छन्।