काठमाडौँ । काठमाडौँको धरहराको झल्को दिने गरी कोहलपुर नगरपालिका–११ गोलपार्कमा सुविधा सम्पन्न भ्यूटावर निर्माण भइरहेको छ।
कोहलपुरको मौलिक पहिचान झल्कने गरी घण्टाघरसहितको १० तल्ले सुविधा सम्पन्न सो भ्यूटावरको निर्माण अन्तिम चरणमा पुगेको छ। लिफ्टसहितको सुविधासम्पन्न सो भ्यूटावर कोहलपुर नगरपालिकाले गौरवको योजनाभित्र पारेर निर्माण गरेको नगरप्रमुख लुटबहादुर रावतले जानकारी दिए। उनका अनुसार भ्यूटावरको भौतिक प्रगति ७० प्रतिशतभन्दा बढी भइसकेको छ। अब लिफ्ट जडानसहित रङरोगन र सजावटको काम बाँकी छ।
नगरप्रमुख रावतले दश तल्लाको उचाइसहित निर्माण भएको भ्यूटावरमा समयको जानकारी गराउने उद्देश्यले घडी राखिने बताउँदै लिफ्टबाट माथि जान सकिने र भ्यूटावरबाट कोहलपुरको चारैतिरको रमणीय दृश्यावलोकन गर्न सकिने जानकारी दिए। रु. पाँच करोड ८८ लाखको लागतमा अत्याधुनिक भ्यूटावर निर्माण भएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टीकाराम ढकालले बताए। भ्यूटावरले कोहलपुर क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्ने उनको भनाइ छ। भ्यूटावर चढ्न कोहलपुर नगरपालिकाले शुल्क निर्धारण गर्नुका साथै कफीसपको समेत व्यवस्था हुने प्रमुख प्रशासकीय अधिकृत ढकालको भनाइ छ।
नौ रेक्टर स्केलको भूकम्पले पनि क्षति नपुग्ने गरी भ्यूटावर निर्माण भइरहेको कोहलपुर नगरपालिकाका पूर्वाधार विकास शाखा प्रमुख इञ्जीनियर बालकृष्ण महतराले जानकारी दिए। भ्यूटावर पुग्न एकपटक १५ जना जानसक्ने क्षमताको लिफ्ट बन्ने बताउँदै उहाँले भ्यूटावरमा दृश्यावलोकनका लागि एकपटकमा ५० जना जान सक्ने क्षमता हुने उल्लेख गरेका छन्।