काठमाडौँ - डेभोन कोनवेले अविजित ७० रन बनाएपछि न्युजिल्यान्डले आइतबार त्रिदेशीय ट्वान्टी-२० अन्तर्राष्ट्रिय शृंखलामा बंगलादेशलाई ८ विकेटले हराएकाे छ।
क्राइस्टचर्चस्थित हाग्ले ओभलमा टस हारेर ब्याटिङका लागि निम्त्याइएको बंगलादेशले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १३७ रन बनाएको थियो। १३८ रनको लक्ष्य न्युजिल्यान्डले १७.५ ओभरमा २ विकेट गुमाएर पूरा गरेको थियो।
न्युजिल्यान्डका कोनवेले ५१ बलमा ७ चौका र १ छक्कासहित अविजित ७० रन बनाएका थिए। कप्तान केन विलियम्सनले ३० रन बनाउँदा ग्लेन फिलिप्सले अविजित २३ रन बनाएका थिए। ओपनर फिन एलेनले १६ रन बनाए। बंगलादेशका शोरिफुल इस्लाम र हसन महमुदले १/१ विकेट लिएका थिए।
त्यसअघि बंगलादेशका लागि ओपनर नाजमुल होसैन शान्तोले सबैभन्दा धेरै ३३ रन बनाएका थिए। नुरुल हसनले अविजित २५ रन बनाए भने अफिफ होसैनले २४ रन जोडेका थिए। कप्तान शाकिब अल हसनले १६ रन बनाउँदा लिटोन दासले १५ रन जोडे। अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन्।
न्युजिल्यान्डका ट्रेन्ट बोल्ट, टिम साउथी, मिचेल ब्रासवेल र इश सोधीले २/२ विकेट लिएका थिए।
न्युजिल्यान्डको यो पहिलो जित हो। यसअघि न्युजिल्यान्ड पाकिस्तानसँग पराजित भएको थियो। बंगलादेश पनि पहिलो खेलमा पाकिस्तानसँग हारेको थियो। २ खेल जितेर ४ अंक जोडेको पाकिस्तान शीर्ष स्थानमा रहेको छ।