भ्रष्टाचारविरुद्ध सरकारले स्टन्टमात्र गरेको ओलीको आरोप

काठमाडौँ - नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सरकारले भ्रष्टाचारविरुद्धको ‘स्टन्टबाजी’ गरिरहेको बताएका छन्।  मंगलबार नेकपा एमाले वागमती संगठन कमिटीको सातौँ बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सरकारले भ्रष्टाचारविरोधी काम गर्यौं भनेर तमासामात्रै देखाएकाले भ्रष्टाचारीलाई कारबाही हुन्छ भनेर विश्वास गर्न नसकिने बताए। 

‘यो तमासा सरकारले जे गरिरहेको छ, जनतालाई भ्रम दिएर वाइवाइ गर्ने षड्यन्त्रमात्रै हो यसबाट केही हुनेवाला छैन’, पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले भने, ‘जहाँ ताक्न खोजेको त्यहाँ लाग्नेवाला नै छैन। यिनीहरुले के गर्छन् अन्त?’

उनले सरकारले भ्रष्टाचार नियन्त्रण गर्छु भनेर भनेपनि भित्तामा हानेको भकुण्डो आफैंतिर फर्केर आफैंलाई लाग्ने पनि बताए। ‘यिनीहरुले भकुण्डो भित्तामा हान्छन् भित्ताबाट भकुण्डो फर्केर आफ्नै टाउकामा लाग्छ। अर्कोलाई हान्न खोज्छन् तर आफ्नै टाउकामा लाग्छ’, ओलीले भने, ‘त्यसो भएपछि यिनीहरुले केही गर्ने होइनन् यो सबै स्टन्ट हो।’ 

उनले अविश्वसनीय र भ्रष्टहरु नै अहिले आफूलाई बडो विश्वसनीय तत्वजस्तो देखाउन खोजेको पनि बताए। ‘जो अविश्वशनीय छन्, भ्रष्ट तत्वहरुले भ्रष्टाचारविरोधी अभिनय गरिरहेका छन्। राष्ट्रिय राजनीति फिल्म हेरेको जस्तो भइरहेको छ’, ओलीले भने, ‘नेकपा एमालेले अभिनयभन्दा यथार्थ राजनीति गर्नुपर्छ।’ अध्यक्ष ओलीले सरकार बनेको सात महिना हुँदा समेत ओर्तिरको सिन्को पर्तिर नसारेको तर ढाट्नमात्र लागेको बताए। उनले मिटरव्याज विरुद्धको अध्यादेश वैशाख २४ गते पेश गर्नुपर्नेमा असार ५ गतेसम्म सरकार के हेरेर बसेको भन्दै सामन्तको पक्षमा सरकार लागेको बताए। 

 ‘६० औं दिनमा केही भयो भने संसद रोकिन सक्छ। त्यस्तो बेलामा ल्याए’, उनले भने, ‘हामीले संसद चलाउनेगरी अघि बढौ भन्यौ।’  प्रधानमन्त्री प्रचण्डले संसदमा आफूलाई स्पष्टीकरण दिन समेत नदिएर झुठ बोलेको भन्दै ओलीले भने, ‘प्रचण्डजी एण्ड कम्पनीको गठबन्धन सरकारले मिटरव्याजविरुद्धको अध्यादेश असफल पार्यो।’ अध्यक्ष ओलीले जलहरी प्रकरणमा सुनको साटो पित्तल चढायो भनेर अफवाह फैलाएको भन्दै त्यसरी अफवाह फैलाउन सत्तापक्षले सांसदहरुलाई तालिम दिने गरेको आरोप लगाए।
 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×