दार्चुला । दार्चुलामा महाकाली नदीको पानीको गुणस्तर मापन गरिएको छ । नेपाल–भारत सीमा भएर बग्ने महाकाली नदीको नेपालतर्फ चार ठाउँमा पहिलो पटक पानीको गुणस्तर मापन गरिएको हो ।
व्याँस गाउँपालिका–५ तिगरम, महाकाली नगरपालिका–४ पुलघाट, महाकाली नगरपालिका–९ दत्तु र मालिकार्जुन गाउँपालिका–७ जोलजिवी पुल क्षेत्रमा पानीको गुणस्तर मापन गरिएको छ ।
एसआइडीएको आर्थिक तथा अक्सफाम नेपालको प्राविधिक सहयोगमा सीआरडीएस नेपालद्वारा दार्चुलामा संचालित ट्रोसा दोस्रो परियोजनाले पानी गुणस्तर जाँच सम्बन्धि तालिम लिएका महिला सशक्तिकरण केन्द्रका सदस्य लोक वैज्ञानिक परियोजनाका कर्मचारीको सहभागितामा पानी जाँच गरिएको हो ।
पानीको गुणस्तर मापनले पानीको शुद्धता, फोहोरको मात्रा, पानीमा घुलित तत्वको मापन, जैविक तत्वको मात्राबारे जानकारी मिल्ने परियोजना संयोजक मानसिंह कार्कीले बताए ।
यसका साथै पानीमा कुहिने तत्त्वको जानकारी, पानीमा रहेका जीवमा यसको असरलगायत बाली बोटविरुवा, वनस्पतिमा यसले पर्ने असर पत्ता लगाइ समस्या समाधानका लागि प्रयास गर्न सकिने उनकोे भनाइ छ ।
उनका अनुसार गुणस्तरका लागि १० प्यारामिटरमा आधारित रही जाँच गरिएको हो । पिएच (पानीको गुणस्तर), आईरन, नाईटेड, फस्पोरस, क्लोराइड, हार्डनेश, क्लोरिन,तापक्रम, एमोनियाको जाँच गरिएको छ । पानी जाँच पहिलो पटक सुरु गरेको र आगामी दिनमा मासिक रुपमा नियमित जाँच गर्ने योजना रहेको छ ।
महाकालीको पानी यस क्षेत्रका स्थानीयहरुले सिचाइँ, सरसफाइ, मत्स्य पालनका लागि प्रयोग गर्दै आएका छन् ।