काठमाडौँ - विवादित गायक दुर्गेश थापाले आउँदै गरेको तीज लक्षित गर्दै ‘बिच्च बिच्चमा ६’ बजारमा ल्याएका छन्। दुर्गेशको ‘बिच्च बिच्चमा’ को पहिलो सिरिजदेखि पाँचौँ भागसम्म विवादमा तानिएको थियो।
गतवर्ष रिलिज भएको ‘ख्यास्स पुतली’ गीतको शब्दलाई लिएर यतिसम्म आपत्ति भयो कि उनलाई राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले सदस्यबाट हटाएको पनि थियो।
गीत युट्युबबाट हटाउन प्रतिष्ठानले दिएको निर्देशनलाई बेवास्ता गरेपछि गत साउन १७ गते बसेको बैठकले थापालाई आजीवन सदस्य नरहने गरी निष्कासन गरेको घोषणा गरेको थियो। तर, छैटौँ भागको भने दर्शकले जमेरै तारिफ गरिरहेका छन्। दुर्गेशकै शब्द/संगीत अनि स्वर रहेको गीतलाई युट्युबमा राम्रो प्रतिक्रिया आइरहेको छ।
यो गीतले छोरा र छोरीमा हुने भेदभावलाई प्रस्तुत गरेको छ। कमेन्टमा दुर्गेशलाई बधाई दिँदै राम्रो विषयलाई तीज गीतमा उतारेको भन्दै तारिफ गरिएको छ।