काठमाडौं । प्रधानमन्त्री केपी ओली प्रतिनिधिसभामा बोल्दै गर्दा माओवादी केन्द्रका उपमहासचिव एवं निवर्तमान अर्थमन्त्री वर्षमान पुनले नियमापत्ति गरेका छन्।
सोमबारको बैठकमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम राखिएको थियो । आकस्मिक र शून्य समयको कार्यक्रम सकिएपछि निर्धारित समयभन्दा ढिलो गरी प्रश्नोत्तर सुरु भयो । सत्तारुढ काँग्रेस सांसद धनराज गुरुङले प्रधानमन्त्री ओलीलाई पहिलो प्रश्न राखेका थिए।
सोमबारको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री ओली सांसदसँगको सवाल जवाफका लागि रोष्ट्रममा पुगेपछि सांसदको प्रश्नको जवाफ दिनुको साटो विषयान्तर गर्दै विधुत महसुललगायतका विषयमा केन्द्रित भएर बोल्न थालेपछि सांसद पुन आसनबाट उठेर नियमापत्ति जनाए ।
पुनले प्रश्नोत्तर कार्यक्रममा सांसदका प्रश्नको जवाफ दिनुपर्नेमा ओलीले आफूमाथि प्रश्न उठाउने प्रतिपक्षी सांसदलाई गाली गरेको भन्दै आपत्ति जनाए । ‘सम्माननीय सभामुख महोदय, सम्माननीय प्रधानमन्त्रीज्यू के सन्दर्भमा अहिले बोल्दै हुनुहुन्छ ? सभामुखले रुलिङ गर्नुपर्छ होला । उहाँ प्रश्नोत्तरमा हुनुहुन्छ । आफ्ना कार्यकर्तालाई जसरी सांसदलाई नथर्काउनुस् । जनताबाट निर्वाचित जनप्रतिनिधिलाई हप्काउने ।’ सार्वजनिक अभिव्यक्तिमा अक्सर संयमता अपनाउने गरेका पुन सोमबार संसदमा भने आक्रामक रुपमा प्रस्तुत भएका थिए।
पुनले थप बोल्न खोज्दै गरेका बेला सभामुख घिमिरेले आफ्नो ध्यानाकर्षण भएको र आफूले त्यतै लान खोजेको भन्दै प्रधानमन्त्री ओलीलाई विषय केन्द्रित भएर बोल्न निर्देश गरे ।