मानव अधिकार चलचित्र महोत्सवमा ६४ फिल्म प्रदर्शन हुने

काठमाडौँ - नेपाल मानव अधिकार अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको १०औँ संस्करण आइतबारबाट सुरु हुँदैछ। ६ पुससम्म काठमाडौँस्थित नेपाल पर्यटन बोर्डको हलमा सञ्चालन हुने महोत्सवमा २५ देशका ६४ फिल्म प्रदर्शन गरिनेछ। महोत्सवको उद्घाटन राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले गर्ने कार्यक्रम छ।

‘जलवायु परिवर्तन र पर्यावरण न्याय’को नारासहित आयोजना गरिने यस संस्करणको महोत्सवको उद्घाटनमा शान्ता नेपाली निर्देशित वृत्तचित्र ‘क्लाइमिङ ट्याम्पेचर्स : टप अफ द वर्ल्ड’ देखाइनेछ। महोत्सवको समापन समारोहमा दीपक रौनियार निर्देशित सर्ट फिल्म ‘फोर नाइट्स’ प्रदर्शन गर्ने कार्यक्रम छ।

यस वर्ष महोत्सवमा नेपालबाट निर्देशक अभिनाशविक्रम शाह, भारतबाट लेखक तथा निर्देशक अनिर्वाण भट्टचार्य, कोरियाबाट मानव अधिकार अभियन्ता तथा महोत्सव निर्देशक सु-ली दिलबर र इजरायलबाट लेखक तथा निर्देशक ओश्रा स्वार्ज रेम जुरीको रूपमा रहेका छन्।

महोत्सवमा प्रदर्शन गरिने चलचित्रमध्ये ४ विधामा उत्कृष्ट स्थान हासिल गर्नेलाई नगदसहित अवार्ड प्रदान गरिनेछ। त्यस्तै, महोत्सवमा उत्कृष्ट नेपाली महिला निर्देशकलाई पनि अवार्ड प्रदान गरिनेछ।

महोत्सवका दौरान ‘लुकेर बसेका कथाहरूलाई कसरी वृत्तचित्रमा प्रस्तुत गर्ने?’ विषयक मास्टर क्लाससमेत आयोजना हुनेछ। मास्टर क्लास भारतीय वृत्तचित्र निर्देशक अनिर्वाण भट्टचार्यले दिनेछन्। त्यस्तै, महोत्सवमा ‘जलवायु परिवर्तन र न्यायसम्बन्धी’ विषयमा मानव अधिकारकर्मी, जलवायुसम्बधी विज्ञ, चलचित्रकर्मीहरूसँग प्यानल छलफल पनि राखिएको छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×