परराष्ट्रमन्त्री खड्का र अमेरिकी सहायक विदेशमन्त्री लुबीच भेटवार्ता

काठमाडौँ - परराष्ट्रमन्त्री डा नारायण खड्कासँग दक्षिण तथा मध्य एशियाली मामिलासम्बन्धी अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु र उपसहायक विदेशमन्त्री केली किडरलिङले शिष्टाचार भेट गरेका छन्।

भेटमा नेपाल–अमेरिका मैत्री र सहयोगका बृहत् क्षेत्रमा छलफल हुनुका साथै नेपालको विकास प्राथमिकताका विभिन्न विषयसहित महामारीपछिको आर्थिक पुनरुत्थानमा व्यापार र लगानीको भूमिका महत्वपूर्ण हुनेमा उनीहरूबीच छलफल भएको मन्त्रालयले जनाएको छ।

परराष्ट्रमन्त्री डा खड्काले कोभिड–१९ को महामारीका बेला खोपलगायत अमूल्य चिकित्सा सहयोगका लागि अमेरिकी सरकारलाई धन्यवाद दिए। दुवै पक्षले नेपाल र अमेरिकाबीच लामो समयदेखिको सहयोग र सहकार्यका नेपालको आर्थिक विकासका लागि महत्वपूर्ण हुनसक्ने मिलेनियम कर्पोरेशन च्यालेञ्ज (एमसिसी) परियोजनालगायत विषयमा पनि विचारविमर्श गरेको थियो।

सहायक विदेशमन्त्रीले परराष्ट्रमन्त्रीलाई अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनको बधाई सन्देश सुनाउँदै पारस्परिक हितका विषयमा परराष्ट्र मन्त्रालयसँग मिलेर काम गर्न अमेरिकी विदेशमन्त्री तत्पर रहेको जानकारी दिएका थिए।

मन्त्रालयका अनुसार भेटमा नेपालसँगको अमेरिकी सहयोग निरन्तर रहने आश्वासन उनले परराष्ट्रमन्त्रीलाई दिए। नेपालजस्ता जलवायु जोखिममा रहेका पर्वतीय देशमा जलवायु परिवर्तनले पारेको प्रतिकूल असरलाई स्वीकार गर्दै दुवै पक्षले प्रभावकारी जलवायु कार्य, अनुकूलन र न्यूनीकरण उपायका लागि वित्त व्यवस्थापनको आवश्यकताबारे विचार आदानप्रदान गरेका परराष्ट्र मन्त्रालयले जनाएको छ।

दुवै पक्षले बदलिएको अन्तर्राष्ट्रिय परिवेशमा नेपाल–अमेरिका सम्बन्धको गतिशीलताका साथै उच्चस्तरीय भ्रमणको आदानप्रदान, आर्थिक साझेदारी र दुई देशका जनताबीचको सम्पर्कलगायत द्विपक्षीय संलग्नतालाई अगाडि बढाउने उपायबारे छलफल गरेका थिए।
 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×