बैतडी - बैतडीका करिब ७५ हजार बालबालिकाले टाइफाइडविरुद्धको खोप लगाएका छन्। स्वास्थ्य कार्यालका प्रमुख योगेशप्रसाद भट्टका अनुसार जिल्लाका १० वटै पालिकाका ७४ हजार ९१६ बालबालिकालाई खोप लगाएका हुन्।
कार्यालयका अनुसार पुर्चौडी नगरपालिकाका १२ हजार ४२२, पाटन नगरपालिकाका आठ हजार ७१०, दशरथचन्द नगरपालिकाका आठ हजार ४८१, मेलौली नगरपालिकाका छ हजार २३६ बालबालिकालाई खोप लगाइएको छ। यस्तै सिगास गाउँपालिकाका सात हजार ७५०, दोगडाकेदार गाउँपालिकाका छ हजार ९१४, डिलाशैनी गाउँपालिकाका छ हजार ६१७, शिवनाथ गाउँपालिकाका छ हजार ३७२, सुर्नया गाउँपालिकामा पाँच हजार ८४५ र पञ्चेश्वर गाउँपालिकाका पाँच हजार ५६९ बालबालिकाले खोप पाएका हुन्।
जिल्लाका १५ महिनादेखि १५ वर्षसम्मका बालबालिकाले खोप सेवा पाएका हुन्। टाइफाइड रोगबाट बचाउनका लागि बालबालिकालाई सो खोप पहिलो पटक दिइएको हो। यस वर्ष अभियानको रुपमा टाइफाइडविरुद्धको खोप दिइएको छ भने अर्को वर्षदेखि बालबालिकालाई दिइने नियमित खोपमा सो खोपलाई समावेश गरिने जनाइएको छ।
गत चैत २५ गतेबाट टाइफाइडविरुद्धको खोप अभियान सुरु भएको थियो।