काठमाडौँ - ब्राजिलियन महान खेलाडी रोनाल्डोले इटालियन सिरी ‘ए’ क्लब इन्टर मिलनमा रोमेलु लुकाकु र लौटारो मार्टिनेजको साझेदारी उत्कृष्ट हुनेमा आफू विश्वस्त रहेको बताएका छन्।
गत सिजन चेल्सीमा निराशाजनक प्रदर्शन गरेका बेल्जियम स्ट्राइकर लुकालु यसै सिजन इन्टर मिलानमा फर्किएका छन्। चेल्सीका मुख्य प्रशिक्षक थोमस टुचेलसँग सम्बन्ध चिसिएपछि लुकाकु इन्टर फर्किएका हुन्।
गत सिजन पनि लुकाकु क्लबै बसेको भए इन्टरले उपाधि रक्षा गर्ने रोनाल्डोको दाबी थियो। लुकाकु १ सिजनका लागि लोनमा चेल्सीबाट इन्टर आएका हुन्। सन् २०२०-२१ सिजन इन्टरले सिरी ‘ए’ उपाधि जित्दा प्रमुख भुमिका निर्वाह गरेको उनले सो सिजन सबैखाले खेलमा ३० गोल गरेका थिए।
उनले यो सिजन साविक विजेता एसी मिलानलाई उपाधि दावेदारको रूपमा नहरेको बताएका छन्। ‘मैले एसी मिलानलाई नयाँ सिजनका लागि उपाधि दाबेदार टोलीको रुपमा हेरेको छैन। तर साविक विजेता भएकाले उसलाई कमजोर टोलीको रुपमा लिने भुल भने गर्नु हुँदैन’, इन्टरका पूर्वस्ट्राइकर रोनाल्डोले भने, ‘इन्टर गत सिजन उपाधि रक्षाको संघारमा पुगे पनि सफल भएन।’
रोनाल्डोले यो सिजन युभेन्ट्सले कडा टक्कर दिने बताएका छन्। ‘इन्टर र युभेन्ट्सको खेल निकै रोचक हुनेछ। युभेन्टसका लागि पछिल्लो २ सिजन सुखद भएन। त्यसैले उ यस सिजन आफूलाई उपाधि दाबेदार टोलीको रुपमा उभ्याउने प्रयासमा हुनेछ। तर, लुकाकु र मार्टिनेजको साझेदारी पुनः सफल पार्दै इन्टर विजेता बन्न चाहन्छ’ उनले थपे।
सन् १९९७ देखि २००२ सम्म इन्टरमा बिताउँदा रोनाल्डोले क्लबका लागि ६८ सिरी ‘ए’ खेल खेल्दा ४९ गोल गरेका थिए।