पर्यटन प्रवर्धनका लागि दृश्यावलोकन स्तम्भ निर्माण

तनहुँ। ग्रामीण पर्यटन प्रवर्धन गर्ने उद्देश्यसहित तनहुँको भिमाद नगरपालिका–५ स्थित मिछुर्लुङमा दृश्यावलोकन स्तम्भ निर्माण सुरु भएको छ। देश तथा विदेशमा रहेका नेपालीबाट सङ्कलन गरिएको रकमबाट दृश्यावलोकन स्तम्भ निर्माण सुरु भएको हो। मिछुर्लङमा जन्मेर हाल बेलायतमा रहेका महेन्द्र आलेको परिकल्पनामा दृश्यावलोकन स्तम्भ निर्माण सुरु गरिएको मिछुर्लुङ क्षेत्र विकास तथा भ्यूटावर निर्माण समितिका अध्यक्ष नरेन्द्र थापाले बताए। भ्यूटावर निर्माणका लागि देश तथा विदेशमा रहेका नेपालीबाट रु ३० लाख सङ्कलन भएको छ। रु ३८ लाख चार हजार ९०० मा निर्माण हुने भ्यूटावरको ठेक्का साराङकोट निर्माण सेवाले पाएको छ। विसं २०७९ वैशाखभित्र भ्यूटावर निर्माण सम्पन्न गर्ने लक्ष्य छ। मिर्छुलुङ गाउँमा सञ्चालित घरबासका लागि पनि स्तम्भले सहयोग पुग्ने थापाले जानकारी दिए। स्तम्भको सोमबार शिलान्यास गर्दै भिमाद नगरपालिकाका प्रमुख मेखबहादुर थापाले यसले मिर्छुलुङको पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने बताए। “गाउँमा घरबास सञ्चालन छ, घरबासमा आउने पर्यटकलाई भ्यूटावरबाट प्राकृतिक दृश्यावलोकन गराउन सके यहाँको थप प्रवद्र्धन हुन्छ”, उनले भने। पर्यटन प्रवद्र्धन गरी स्थानीयवासीको आयआर्जनमा वृद्धि हुनसके मात्र भ्यूटावर निर्माणको औचित्य रहेको उनको भनाइ छ। नेपाली कांग्रेसका जिल्ला सभापति जितप्रकाश आलेले नेपालको समृद्धिको आधार नै पर्यटन भएको बताउँदै कोभिडले थलिएको पर्यटन व्यवसाय विस्तार लयमा जान थालेकाले पूर्वाधार निर्माण हुन सुखद् रहेको बताए। म्याग्दे गाउँपालिकाका अध्यक्ष मायादेवी रानाले मिछुर्लुङ सुन्दर बस्ती मात्र नभई मगर समुदायको संस्कृतिमा धनी गाउँसमेत भएको बताउँदै भने, “संस्कृति प्रदर्शन गरेर पर्यटकलाई आकर्षण गर्न सकिन्छ।” घिरिङ गाउँपालिकाका अध्यक्ष रनबहादुर रानाले भिमाद र घिरिङलाई जोडेर समग्र पर्यटन प्रवद्र्धन गर्न सहकार्य गर्ने बताए। “गाउँबाट भागेका मनलाई गाउँमा ल्याउन आवश्यक छ, त्यसको मुख्य आधार ग्रामीण पर्यटन हो”, उनले भने। नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य एवं कांग्रेस उपसभापति देवकुमार श्रेष्ठले आर्थिक समृद्धिमा निजी क्षेत्रले महत्वपूर्ण भूमिका खेलेको बताए।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×