अझै पानी बोकेर ल्याउनुपर्ने बाध्यता

पाल्पा। पाल्पाको रैनादेवी छहरा गाउँपालिका–५ मुझुङ्गका टोड्केमा अझै खानेपानी बोकेर ल्याउनुपर्ने बाध्यता हटेको छैन। सरकारले ‘एक घर, एक धारा’ जडानको नीति लिए पनि आर्थिकरूपले विपन्न समुदाय सो पहुँचबाट बाहिरै रहनुपर्ने बाध्यता छ। सोही स्थानमा तीन घर रहे पनि अहिले एक घरमा मात्र बसोबास छ। पानीकै अभाव दुई घर अन्यत्र बसोबास गर्न थालेपछि गाउँमा सन्तानविहीन वृद्ध दम्पतीले पानीकै निम्ति सास्ती खेपेका छन्। सङ्घीय, प्रदेश र स्थानीय सरकार रहे पनि गरिब दिनदुःखीले आधारभूत आवश्यकता पूरा गर्न सरकार चुकेका छन्। नजिकको सरकार वा सिंहदरबारको अधिकारको गाउँगाउँमा भनिए पनि गरिब नागरिकले आधारभूत समस्या खेपेका छन्। वास्तविक गरिब पहिचान गरी सरकारले गरिब उत्थान कार्यक्रम ल्याए पनि वृद्ध परिवार भने समस्याबाट मुक्त हुनसकेका छैनन्। पाल्पाको हार्थोक छहरा सडकखण्डअन्तर्गत पर्ने यो क्षेत्र चारतिर जङ्गलले घेरिएको छ। नजिकै बस्ती छैन, त्यही एक्लो घरमा बसोबास गर्ने यी ७२ वर्षीय रामबहादुर खड्का र उनकी श्रीमती सीताको पनि उमेर ७० नाघिसक्यो। तर दिनरात पानीका निम्ति जङ्गलको बीच भागमा रहेको कुँवा धाउनुपर्ने अवस्था हटेको छैन, कहिले आफन्तहरूको घरमा पानी माग्न पुग्नुपर्ने बाध्यता टरेको छैन। सवारी सञ्चालन नहुँदा टोडकेमा पानी पिउन पैदलयात्रु त्यो घरमा पस्ने गर्थेँ। रामबहादुर र सीताले घण्टौँ समय बिताएर डोकोमा पानी बोकेर घरमा ल्याउने गर्थेँ। त्यही पनि पैदलयात्रुलाई मागे जति दिन पाउँदा खुशी हुन्थे। तर पहिलाका पानीका दाता अहिले यी जोडीलाई पानीको व्यवस्थापनको पिरलोले सुताइरहेको छ। ‘एक घर, एक धारा’को नारा पनि यी वृद्ध दम्पतीका निम्ति कार्यान्वयनमा आउन सकेको छैन। श्रीमान् बिरामी छन्। छोरीहरूका विवाह गरी घर गएपछि जङ्गलको बीच भागबाट पानी बोकेर ल्याउनुपर्ने बाध्यता छ। सीताले भनिन्, “श्रीमान् रामबहादुरको कम्मर निकै दुख्छ, रिङ्गटा लाग्छ। उनले केही काम गर्न नसक्ने भएका छन्। बुढेसकालमा पानी बोकेर खान सक्ने स्थिति नै छैन। त्यसैले मैले जसोतसो गरी पानीको बोकेर ल्याउँछु, उकालो आरालो गर्न समस्या भए पनि पानीबिना बाँच्न नै गाह्रो रहेछ।” आम्दानीका नाममा रामबहादुरको सामाजिक सुरक्षा भत्ता मात्र हो। सन्तानका नाममा तीन छोरी रहे पनि उनीहरूका विवाह गरी घरजम गरिसकेकाले माइती कमै पाइला टेक्छन्। खड्कालाई पानीजस्तै, साँझ बिहान गाँसको पनि समस्या हुँदै गएको छ। हातीढुङ्गाको पानी लिफ्टमार्फत तानेर घर नजिकै टयाङ्की निर्माण गर्न गाउँलेलाई सल्लाह दिएको तर गाउँले कुरा नसुनेपछि रामबहादुर चिन्तित छन्। त्यो पानी ठूलो पोखरामा आउँछन् भन्छन्, “खड्काको घर डाडाँमा रहेकाले लिफ्टमार्फत तानेको पानी ल्याउनसमेत समस्या रहेको बताए। “पाँच भाइमध्ये चार भाइ पानीकै अभावमा सहर पलायन भएका छन्। लाखौँ खर्चिएर बनाइएका घरहरू छाडेर अन्यत्र बसोबास गर्न बाध्य भएका हुन्। सहरमा भाडा तिर्नुपर्ने आफ्नै घरचाहिँ भत्किएका र जङ्गलले घरिएका छन्। जग्गाजमिन प्रशस्त रहे पनि सिँचाइको सुविधा छैन। उत्पादित अन्नबाली बाँदर, मृगलगायत वन्यजन्तुबाट जोगाउन समस्या रहेको छ”, रामबहादुरको गुनासो छ। बाँदरको समस्याले पाँच वर्षदेखि मकै बाली उत्पादन गर्न छाडिएको छ। बारीमा वन्यजन्तुको समस्याले अम्रिसो रोपिएको छ। अम्रिसोबाट कुचो र घाँस दुवै हुन्छ। त्यसैले आम्दानी निम्ति भैँसीपालन गरिए पनि घाँस काट्न जाँदा चितुवाको समस्या रहेको सीता खड्काको गुनासो छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×