काठमाडौँ - किलियन एमबाप्पे चम्किएपछि डेनमार्कलाई २-१ ले पराजित गर्दै साबिक विजेता फ्रान्स कतारमा जारी फिफा विश्वकपको अन्तिम-१६ मा पुग्ने पहिलो टिम बनेको छ। समूह 'डी' अन्तर्गतको खेलमा डेनमार्कमाथि रोमाञ्चक जित निकाल्दा फ्रान्सका लागि दुवै गोल एमबाप्पेले गरेका थिए।
कतारको रंगशाला ९७४ मा सम्पन्न खेलको ६१औँ मिनेटमा एमबाप्पेले फ्रान्सलाई अग्रता दिलाएका थिए। यद्यपि ६८औँ मिनेटमा आन्ड्रेस क्रिस्टिन्सनले गोल गर्दै डेनमार्कलाई खेलमा फर्काएका थिए।
तर, खेलको निर्धारित समय सकिन ४ मिनेट बाँकी रहँदा एमबाप्पेले गरेको गोल नै निर्णायक बनेपछि फ्रान्सले समूह चरणको अन्तिम खेल अगावै प्रि-क्वार्टरफाइनलमा स्थान पक्का गरेको छ।
फ्रान्स २००६ पछि अन्तिम-१६ मा प्रवेश गर्ने पहिलो साबिक विजेता बनेको छ। यसअघि २००६ को विजेता इटाली २०१० को समूह चरणबाट, २०१० को विजेता स्पेन २०१४ को समूह चरणबाट, २०१४ को विजेता जर्मनी २०१८ को समूह चरणबाट बाहिरिएको थियो।
जितसँगै २ खेलबाट ६ अंक जोडेको फ्रान्स समूह 'डी' को शीर्ष स्थानमा रहेको छ। समान खेलबाट १ अंक जोडेको डेनमार्क तालिकाको तेस्रो स्थानमा रहेको छ।
विश्वकपमा दुवै टिमको यो समूह चरणको दोस्रो खेल हो। यसअघि पहिलो खेलमा फ्रान्सले अस्ट्रेलियालाई ४-१ ले पराजित गर्दा डेनमार्क भने ट्युनिसियासँग गोलरहित बराबरीमा रोकिएको थियो।