काठमाडौँ - नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले तेस्रो महिला टी–ट्वान्टी अन्तर्राष्ट्रिय खेलमा आज (बिहीबार) युगान्डासँग खेल्दैछ। किर्तिपुरको त्रिवि क्रिकेट मैदानमा हुने नेपाल र युगान्डाबीचको खेल दिउँसो १ बजेबाट सुरु हुनेछ। यसअघिको दुई खेलमा पराजित भएको नेपाल आजको खेलमा सजह जित निकाल्दै सिरिज जोगाउने योजनामा हुनेछ।
पाँच महिला टी–ट्वान्टी अन्तर्राष्ट्रिय खेलमा युगान्डाले पहिलो खेलमा १२ रन र दोस्रो खेलमा एक विकेटको जितका साथ २–० को अग्रता लिएको छ। त्यसैले नेपाललाई आजको खेलमा जित निकाल्नै पर्ने दबाब छ। नेपालले खेलेका दुबै खेलमा फिल्डिङको कमजोरी देखिएको छ। नेपाली टोलीका मुख्य प्रशिक्षक जगत टमाटाले आजको खेलमा फिल्डिङमा सुधार गर्ने योजना रहेको बताएका छन्।