कतारबाट फर्किएर उखु र मेवा खेतीमा लगानी; लोभलाग्दो आम्दानी

काठमाडौँ - कतारबाट फर्किएपछि तनहुँका एक युवकले व्यावसायिक रूपमा उखु र मेवा खेती गरेर राम्रो आम्दानी गर्न थालेका छन्। 

व्यास नगरपालिका–१ घाँसीकुवा निवासी हेमबहादुर लामा विदेशको रोजगारी छाडेर स्वदेशमै उक्त व्यवसाय गरी आम्दानी लिन थालेका हुन्। करिब पाँच वर्ष कतारमा स्टोर किपरको राम्रो जागिर गरेका उनले स्वदेशमै केही गरौँ भन्ने सोचका साथ जागिर छाडेर आई व्यावसायिकरूपले उखु र मेवा खेतीतर्फ लागेका हुन्। व्यास नगरपालिका–११ स्थित गैह्राबारी भन्ने स्थानमा लामा कृषि तथा पशु फार्म दर्ता गरी वार्षिक रु डेढ लाख भाडा बुझाउने गरी बाइस रोपनी जग्गा भाडामा लिएर लामाले उखु र मेवा खेती गरेका हुन्।

करिब १७ रोपनी जमिनमा उखु र पाँच रोपनीमा मेवा खेती गरिएको किसान उनले बताए। सुरुमा रु. नौ लाख लगानी गरी व्यवसाय थालेको बताउने लामाले उखु गत असोज महिनादेखि र मेवा कात्तिक महिनादेखि उत्पादन लिन थालेको जानकारी दिए। पाँच महिनाको अवधिमा उखु करिब रु. डेढ लाख र मेवा रु. ५० हजारभन्दा बढीको बिक्री गरिसकिएको उनको भनाइ थियो। चिसोका कारण अहिले बिक्री न्यून रहे पनि गर्मी बढ्न थालेपछि बिक्री राम्रो हुने अपेक्षा छ।  

उक्त फार्ममा उत्पादन गरिएका उखु र मेवा जिल्लाको आँबुखैरेनी, डुम्रे, दमौली, दुलेगौडा र भिमाद बजारमा बिक्री हुँदै आएको छ। किसान लामाको व्यास नगरपालिका–३ अनशन चौतारीमा लामा फलफूल  तथा जुस पसल रहेकाले कतिपय उत्पादित सामान पसलबाट पनि बिक्री हुने गरेकाले व्यापार गर्न सहज भएको छ। सुरुमा दुई हजार बोट काली उखु र तीन सय बोट रेडलेडी नाउँको मेवाको बिरुवा लगाइएकामा अहिले दैनिक राम्रो आम्दानी दिन थालेको बताइएको छ।

एक वर्षअघि लगाइएको उखु तीन वर्षसम्म र एकपटक लगाइएको मेवाले दुई वर्षसम्म निरन्तर आम्दानी दिइरहने लामाका बाबु जयबहादुरले जानकारी दिएका छन्।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×