सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) को लिग चरण आइतबार सम्पन्न भएको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको अन्तिम खेलमा कर्णाली याक्सले साविक विजेता जनकपुर बोल्ट्सलाई ३ रनले पराजित गर्दै रोमाञ्चक जित हात पारेको छ।
यो जितसँगै कर्णालीले ७ खेलमा ४ अंक जोडेर लिग तालिकाको छैटौं स्थानमा समेटियो। लगातार खराब प्रदर्शन गर्दै आएको जनकपुर भने २ अंकसहित लिगको पुछारमा (८औँ स्थान) रह्यो। जनकपुरले यस सिजन ७ खेलमध्ये केवल १ खेलमा मात्र जित निकालेको थियो।
अन्तिम खेलको रोमाञ्च
१३० रनको लक्ष्य पछ्याएको जनकपुर ७ विकेट गुमाउँदै १२६ रनमै रोकियो। अन्तिम ओभरमा जनकपुरलाई १४ रन आवश्यक थियो। कर्णालीका नन्दन यादवले पहिलो बलमै सेट ब्याटर सञ्जय कृष्णमूर्तिलाई ५१ रनमा आउट गर्दै दबाब बनाएका थिए।
सञ्जयले ३९ बलमा १ चौका र ६ छक्का प्रहार गरेका थिए।
पछि यान निकोल लोफ्टी–इटनले प्रयास गरे पनि अन्तिम बलमा छक्का प्रहार गर्न नसक्दा जनकपुर विजयबाट ३ रन टाढा रह्यो।
कर्णालीका विलियन बोसिस्टोले २ विकेट लिए भने मार्क वाटले १ मेडनसहित ४ ओभरमा ९ रन मात्र दिँदै १ विकेट हात पारे।
कर्णालीको ब्याटिङ पक्ष
पहिले ब्याटिङ गरेको कर्णालीले ९ विकेटको क्षतिमा १२९ रन जोड्यो। इमरान शेखले ३३ रन र कप्तान सोमपाल कामीले नटआउट १८ रन जोडे। जनकपुरका ललित राजवंशी र आदित्य महराले २–२ विकेट लिएका थिए।
सुदूरपश्चिम रोयल्स – १२ अंक (७ खेलमा ६ जित)
विराटनगर किङ्स – १० अंक
काठमान्डु गोर्खाज – १० अंक
लुम्बिनी – ८ अंक
पोखरा – ६ अंक
कर्णाली – ४ अंक
चितवन – ४ अंक
जनकपुर – २ अंक
उपलब्ध अंकका आधारमा सुदूरपश्चिम, विराटनगर, काठमान्डु र लुम्बिनी प्लेअफमा प्रवेश गर्न सफल भएका छन्।