पर्वत - कुश्मा नगरपालिका–८ र ११ जोड्ने मोदीखोला माथिको दोबिल्ला मोटरेबल पुलमा टिप्पर दुर्घटना भएको छ। पुलमा टिप्पर दुर्घटना हुँदा दक्षिण पर्वत जोड्ने दोविल्ला–फलेवास सडक अवरुद्ध बनेको छ।
यो पुलले पर्वतको फलेवास नगरपालिका, पैयुँ, बिहादी र महाशिला गाउँपालिका जोड्छ। आज बिहान साढे ७ बजे अलकत्र लिएर सिल्मीबाट कुश्मातर्फ आउँदै गरेको ग१ख ८६४१ नंको टिप्पर दुर्घटना भएको हो। दुर्घटनामा मानवीय क्षति भने नभएको स्थानीयवासी चित्रसागर श्रेष्ठले जानकारी दिए।
उनका अनुसार पुलको भार बहन क्षमता १५ टन मात्र भए पनि दिनहुँ क्षमताभन्दा दोब्बर लोड भएका करिब १०० भन्दा बढी टिप्पर यहाँबाट ओहोरदोहोर गर्ने बताए। पुलमा पल्टिएको टिप्पर निकाल्नका लागि प्रयास भइरहे पनि लोड बढी भएका कारण समस्या परेको प्रहरीले जनाएको छ।
पुलबाट आवतजावत गर्न नपाउँदा फलेवासबाट छुटेका लामो तथा छोटो दूरीका सवारी साधन सिल्मीमा रोकिएका छन् भने ग्रामीण भेगमा जाने सवारी साधन दोविल्लामा रोकिएका हुन्। सडक खुलाउनका लागि पहल भइरहेको प्रहरी निरीक्षक राजेन्द्र अधिकारीले जानकारी दिए।
निर्माण भएको १५ वर्षसम्म पनि पुल मर्मत नहुँदा जीर्ण बन्दै गएको छ। पुलमा राखिएका फलामका पाता उप्किएका छन् भने पर्खाल तथा नट बल्टुहरुसमेत खुस्किएकाले बढी क्षमता भएको टिप्पर पल्टिएको हो। पुल मर्मतका लागि सवारीचालक र स्थानीयवासीले पटकपटक माग गर्दै आएको भए पनि सुनुवाइ हुन सकेको छैन।