विवादमा उपसभामुख: पदीय आचरण विपरित भएको भन्दै राजीनामा माग्ने तयारी

काठमाडौं । नेपालस्थित अमेरिकी दूतावासलाई लेखेको पत्र सार्वजनिक भएपछि उपसभामुख इन्दिरा राना विवादमा परेकी छन् । आफ्नो पदीय मर्यादा बिर्सेर पार्टी र संसद् सचिवालयसँग असम्बन्धित व्यक्तिलाई भिसाको लागि अन्तर्वार्ताको मिति मिलाइदिन भन्दै उनले दूतावासलाई लेखेको पत्र सार्वजनिक भएपछि उनी विवादमा तानिएकी हुन् ।

उपसभामुख रानाले आफ्नो टोलीको सदस्य भन्दै ५ जनाको अन्तर्वार्ताको समय अगाडि सारिदिन काठमाडौंस्थित अमेरिकी दूतावाससँग ताकेता गरेको पाइएको छ ।

उपसभामुखको लेटरहेड प्रयोग गरी भिसाका लागि अन्तर्वार्ताको समय मिलाइदिन उनले आग्रह गरेकी छिन् । आफूसँगै अन्य पाँच जना पुरुषलाई भिसाका लागि सिफारिश गरेकी उपसभामुखले उनीहरु के भूमिकामा कार्यरत छन् भन्ने कुरा चिठीमा खुलेको देखिँदैन ।

दूतावासका कन्सुलर जनरललाई सम्बोधन गर्दै सन् २०२३ को फेब्रुअरी २६ मा लेखिएको पत्रमा उपसभामुखको लेटरहेड, छाप र हस्ताक्षर रहेको छ । उपसभामुख रानाले नेपालस्थित अमेरिकी दूतावासमा केही युवालाई भिसा दिलाउन भन्दै आफ्नो कार्यालयको लेटरहेडमा सिफारिश गरेको पत्र बाहिरिएको छ । रानाले केही युवालाई अमेरिकामा लैजान सिफारिश गरेको पत्रमा खुलेको हो । पत्रमा उपेन्द्र गौतम, सुष्मा लामा, राजेश लामा तामाङ, सुजन घर्तीमगर र धनप्रसाद गुरुङको नाम लेखिएको छ । तर, यीमध्ये कसैले पनि भिसा पाएनन् ।

उपसभामुख रानालाई भने दूतावासले भिसा दिएको थियो । स्रोतका अनुसार आफ्नो मात्र भिसा आएपछि उपसभामुख राना कार्यक्रममा सहभागी हुन २६ फागुनमा कतार एयरको विमानबाट दोहा हुँदै अमेरिका गएकी थिइन् ।

उनले सन् २०२३ मार्च ६ देखि १७ तारिखसम्म अमेरिकाको न्युयोर्कमा आयोजित एनजिओ ‘सिएसडब्यु–६७’ फोरमको कार्यक्रममा आफूसँगै लैजाने भन्दै पाँच जनालाई भिसा दिन आग्रह गरी अमेरिकी दूतावासको कन्सुलर जनरललाई पत्र पठाएकी थिइन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद राना ७ माघ २०७९ मा उपसभामुख निर्वाचित भएकी थिइन् । अर्को महिना फागुनमा उनी यूएन वुमनको सीएसडब्लू ६७ ९मार्च ६ देखि १७० मा सहभागी हुन अमेरिका गएकी थिइन् । महिलासँग सम्बन्धित कार्यक्रममा उनले किन पुरुषै पुरुषमात्र छानेर पठाउन खोजिन् भन्ने प्रश्नसमेत रहस्यमय देखिन्छ ।

सो पत्र बाहिरिएपछि सत्तारुढ दल नेपाली कांग्रेसले उपसभामुखको राजीनामा माग समेत गरेको छ ।

प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले उपसभामुख रानाले पदीय आचरण विपरितको कार्य गरेकाले तुरुन्तै राजीनामा दिनुपर्ने बताएका छन् ।

उपसभामुख रानाले रकम उठाएर अमेरिका नपाएका पीडितहरुले खतिवडा सभापति रहेको राज्यव्यस्था समितिमासमेत उजुरी गरेका छन् ।

सो उजुरीबारे विस्तृत अध्ययन भईरहेको उनले जानकारी दिए । प्रतिनिधि सभाको बैठक आइतबारका लागि डाकिएको छ । सो समयसम्म रानाले राजीनामा नदिए सदन चर्काउने सत्तारुढ दलका सांसदको तयारी छ ।
यसैबीच रानाले एक वर्षपछि यो विषय किन उठाइयो भन्ने प्रश्न गरेकी छन् । ‘यो एक वर्ष पहिलाको कुरा थियो । किन अहिले आएर उठायो भन्नेमा म चकित परेकी छु’, उनले भनिन् ।

सभामुख देवराज घिमिरेले भने संसदको लेटरप्याड दुरुपयोग गरेर भएको उक्त काम गम्भीर भएको बताए । उक्त विषयलाई आफूले गम्भीर रुपमा लिएको भन्दै घिमिरेले सम्वद्ध पक्षहरुसँग छलफल गर्ने जानकारी दिए । श्रोतका अनुसार सभामुख घिमिरेले रानालाई पत्रबारे सोधपुछ गरिसकेका छन् ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×