काठमाडौं - चलचित्र ‘परस्त्री’को छायांकन सकिएको छ। ४० दिन लगाएर चलचित्रको छायांकन गरिएको निर्माता तथा लेखक दीपेन्द्र के खनालले जानकारी दिए। चलचित्रको निर्देशन सुरज पाण्डेले गरेका छन्।
एकभन्दा धेरै जनाको सम्बन्धमा बस्ने तीन मुख्य चरित्रको कथावस्तुमा आधारित चलचित्रलाई खनालले लेखेका हुन्। क्राइम थ्रिलर जनरामा बनेको चलचित्रमा शिल्पा मास्के, कोशिश क्षेत्री र गौरव विष्टको मुख्य भूमिका रहेको छ।
कथावस्तु काठमाडौंमा खिचिएपनि गीत चाहिं हिमालपारिको जिल्ला मुस्ताङमा छायांकन गरिएको छ। ‘कामबाट सन्तुष्ट छु। जुन जनरामा चलचित्र बनाउन खोजेको हुँ। त्यस्तै बनाउन खोजेको छु,’ लेखक खनालले भने।
डेब्यु निर्देशक सुरज पाण्डेको काममा परिपक्वता देखिएको खनालले बताए। ‘डेब्युमा आत्तिने र मिस्टेक गर्ने काम कम देखिएको छ,’ उनले भने। चलचित्रलाई तिहार छेकोमा आगामी कात्तिक ६ गते रिलिज गर्ने तयारी छ। चलचित्रलाई शर्मिला पाण्डेले निर्माण गरेकी हुन्।