एक महिना यार्सागुम्बा टिपेर वर्षभरिको जोहो

दार्चुला - अपि हिमाल गाउँपालिका–२ का गोविन्दसिंह कार्की सानैदेखि यार्सागुम्बा टिपेर आफ्नो खर्च जुटाउने गर्छन्। उनी वर्षका १२ महिनामध्ये एक महिना उच्च हिमाली भेगस्थित यार्सागुम्बा टिप्न जाँदा वर्षभरिलाई खर्च जुटाउँछन्।

पढाइ सामान्य साक्षर मात्र गरेका कार्की यार्सागुम्बाकै कारण परिवारको जोहो चलाउँछन्। घरमा दुई बूढाबूढी छन्। आयस्रोतका रुपमा यार्सागुम्बा मात्रै हो। खेतीपाती गरेर वर्षभरि खान नपुगे पनि यार्सागुम्बाका कारण एक महिना कडा मेहनत गरे वर्षभरि खान लगाउन पुग्ने उनी सुनाउँछन्। “एक महिना यार्सागुम्बा गरेर झण्डै रु चार लाख कमाइ भयो”, उनले भने, “जङ्गलमै वर्षभरिको कमाइ हुन्छ भने मजदुरी गर्न भारत किन जानुपर्‍यो, त्योबाहेक सानातिना काम गाउँका योजनामा गरिन्छ।” 

यार्सागुम्बाकै कारण पछिल्लो समय भारतमा मजदुरी गर्न जाने कोही हुँदैनन्। यार्सागुम्बाको समयमा महिला, पुरुष, स्कुले बालबालिका यार्सागुम्बा सङ्कलनमा लेकतिर जाने गर्छन्। दुई वर्ष कोरोनाका कारण यार्सागुम्बा सङ्कलनमा समेत असर प¥यो। यस वर्ष यार्सागुम्बा वैशाखमै सङ्कलन भयो। सङ्कलन गरेकाहरुले अहिले यार्सागुम्बा बिक्री गरिसकेका छन्। 

अपिहिमाल–१ का ललित जाग्रीले भने, “एक महिना मेहनत ग¥यो भने वर्षभरि खान लगाउन पुगिहाल्छ, भारतमा मजदुरी गर्न वा बाह्यमूलक किन जानुपर्‍यो? यार्सागुम्बा मात्र नभई सतुवा, वन लसुनलगायतका थुप्रै जडीबुटी यो क्षेत्रमा पाइन्छन्।”

यार्सागुम्बा खरिद गर्न व्यापारी गाउँगाउँमा व्यापारी पुगेका छन्। व्यापारी आफँै घरघरमा पुगेर स्थानीयबाट यार्सागुम्बा खरिद गर्ने गर्छन्। यस वर्ष व्यापारीले प्रतितोला रु १५ हजारदेखि रु १८ हजार हालेर यार्सागुम्बा खरिद गरेका छन्। विगतको भन्दा स्थानीयले यस पटक यार्सागुम्बाको मूल्य राम्रो पाएका छन्। यार्सागुम्बा खरिद गर्न व्यापारीको प्रतिस्पर्धा नै चल्छ। स्थानीय धनसिंह जाग्री जिल्लाभरिबाट अहिले यार्सागुम्बा सङ्कलनको काम भइरहेको बताउँछन्। जिल्लाबाट सबैभन्दा बढी यार्सागुम्बाको व्यापार गर्दै आएका जाग्री यस पटक व्यापारी पनि विगतको तुलनामा गाउँमा बढी पुगेको बताउँछन्। 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×