डाँका चोरी तथा लुटपाट गरी फरार रहेका ४ जना पक्राउ

काठमाडौं - भक्तपुर सूर्यविनायक नगरपालिका–४ दधिकोटस्थित डिल्ली बहादुर राउतको घरमा भएको डाँका चोरी तथा लुटपाटमा संलग्न रहि फरार रहेका ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेहरूमा काठमाडौं गोकर्णेश्व र बस्ने सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका–२ घर भएका ३० वर्षीय सुजन रसाईली तथा सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका–२ घर भएका ३१ वर्षीय भिम बहादुर तामाङ, ओखलढुङ्गा मानेभञ्ज्याङ गाउँपालिका–३ घर भई ललितपुर इमाडोल बस्ने ३६ वर्षीय मुना राज राई र सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका–२ घर भई काठमाडौं महाराजगंज बस्ने ३८ वर्षीय कृष्ण बहादुर बोहोरा रहेका छन् । 

राउतको घरबाट असार ४ गते करिब २ करोड रूपैयाँ चोरी तथा लुटपाट भएको घटनाको अनुसन्धानको क्रममा उनीहरूको संलग्नता देखिएपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । राउतका मामा कुल बहादुर खत्रीले आफ्नो चिनजानका सुजन रसाईलीलाई राउतको घर रेक्की गर्न लगाई लुटपाट गर्ने योजनासहित रसाईली समेत ४ जना राउतको घरमा गई सिआईबीको प्रहरी हौँ भन्दै प्रहरीको परिचयपत्र र खुकुरी देखाई उक्त रकम लुटी भिम बहादुरको घर कोठामा गएर ५ जनाले बाँडफाड गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ ।    

उनीहरूबाट प्रहरीले नगद ३६ लाख ३६ हजार रूपैयाँ, घटनामा प्रयोग भएको बा.प्र.०२–०४० प ५५३८ र बा.प्र.०२–०३३ प ६१७४ नम्बरको मोटरसाइकल, मोबाईल १० थान, रकम बोक्न प्रयोग गरेको झोला २ थान, डाँका चोरी तथा लुटपाट गर्दा लगाएको कपडाहरू तथा जुत्ता ३ जोर र खुकुरी १ थान समेत बरामद गरेको छ । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर भक्तपुर पठाइएको छ ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×