एकदिवसीय विश्वकपमा भारत सेमिफाइनलमा प्रवेश गर्ने पहिलो टोली बनेको छ। उत्कृष्ट फर्ममा रहेको भारत अपराजित रहँदै सेमिफाइनल प्रवेश गर्ने क्रममा श्रीलंकालाई ३०२ रनको फराकिलो रन अन्तरले पराजित गरेको हो।
यो जित विश्वकपको इतिहासमा भारतको सबैभन्दा ठूलो जित हो। भारतले आफ्नो १६ वर्ष पुरानो कीर्तिमानमा सुधार गरेको छ। टोलीले २००७ मा बर्मुडालाई २ सय ७५ रनले हराएको थियो। जारी विश्वकपमा भारतले लगातार सातौं खेल जित्दै सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो। भारत ७ खेलमा १४ अंक शहीत शीर्ष स्थानमा रहेको छ।
मुम्बईको वानखेडे स्टेडियममा पहिले ब्याटिङ गरेको भारतले ८ विकेट गुमाएर ३ सय ५७ रन बनाएको थियो। यो सिजनमा टोलीको उत्कृष्ट स्कोर हो। दोस्रो इनिङ्समा भारतीय बलरले श्रीलंकालाई १९.४ ओभरमा ५५ रनमा अलआउट गर्यो।
भारत विरुद्ध निरीह रहेको श्रीलंका कौशन रजिथाले १४ रन बनाउनु सर्वाधिक रह्यो। भारतका लागि मोहम्मद शामीले ५ तथा मोहम्मद सिराजले ३ र जसप्रित बुमराहले १ विकेट लिएका थिए। स्पिनर रविन्द्र जडेजाले एक विकेट लिए। यसअघि शुभमन गिल ९२ बलमा ९२ रन तथा विराट कोहली ९४ बलमा ८८ रन बनाएका थिए। त्यस्तै श्रेयस अय्यर ८२ रन बनाएका थिए। भारतका तीन खेलाडी शतक नजिक पुगेपनि शतक बनाउनबाट भने चुके।