वीरेन्द्रनगर - गण्डकी प्रदेशको पोखरामा हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा कर्णालीले २९ खेलमा सहभागिता जनाउने भएको छ। राष्ट्रिय खेलकुद प्रतियोगितामा ३६ खेलमा प्रतिस्पर्धा हुने भए पनि कर्णालीले २९ खेलमात्र सहभागिता जनाउने कर्णाली खेलकुद परिषद्ले जनाएको छ।
परिषद्का उपाध्यक्ष प्रमोद हमालका अनुसार राष्ट्रिय खेलकुद परिषद्ले प्रतियोगिता व्यवस्थापनका लागि ४९ लाख बजेट पठाएको छ। आठौं राष्ट्रिय खेलकुदमा १ करोड ५० लाख बजेट पठाएको परिषद्ले यसपालि करिब ८० प्रतिशत बजेट कटौती गरेर पठाएको उनको भनाइ छ।
प्रदेश परिषद्ले नवौं राष्ट्रिय खेलकुदका लागि प्रदेशका १० वटै जिल्लामा खेलाडी छनोटको काम गरिरहेको छ। खेलाडी छनोटका लागि प्रत्येक जिल्लामा ६-६ लाखका दरले बजेट पठाइएको उपाध्यक्ष हमालले बताएका छन्। उक्त बजेट सामाजिक विकास मन्त्रालयमार्फत जिल्ला खेलकुद विकास समितिलाई पठाइएको हो।
शनिबारसम्म सबै जिल्लाबाट खेलाडी छनोट गरिसक्नुपर्ने भए पनि केही जिल्लामा मात्रै खेलाडी छनोट भएका छैनन्। स्थानीय तहले खेलकुद प्रतियोगितामार्फत छनोट गरेका खेलाडी जिल्ला हुँदै अन्त्यमा प्रदेशले छनोट गर्नेछ। छनोट खेलाडीको बन्द प्रशिक्षण भदौ २५ देखि सुरु हुने उपाध्यक्ष हमालले जानकारी दिएका छन्।