काठमाडौँ - भारतीय टिभी अभिनेत्री शहनाज गिल सलमान खानको फिल्म ‘किसी का भाइ किसी की जान’बाट बलिउडमा इन्ट्री गर्दैछिन्। डेब्यु गर्ने खबर आइरहेका बेला शहनाजले सलमानको प्रसंशा गरेकी छिन्। उनले सलमानले आफूलाई जीवनमा सधैं अघि बढिरहन सिकाएको बताएकी छिन्।
एफएम क्यानडालाई दिएको अन्तरवार्तामा सलमानबारे उनले भनेकी छिन्, ‘उहाँबाट मैले सधैं अघि बढिरहन सिकेकी हुँ। उहाँ मलाई भन्नुहुन्छ- यदि म राम्रो काम गर्छु त धेरै अगाडि जाने सम्भावना रहेको छ।’
सलमानले आफूलाई सधैं आत्मबल प्रदान गर्ने उनले बताइन्। आफू अहिले जस्तोसुकै परिस्थितिलाई पनि सम्हाल्न सक्ने बनेको बताउँदै आफूसँग जोडिने हरेकबाट केही न केही सिक्ने उल्लेख गरिन्। उनले थपिन्, ‘मलाई समस्याको सामना गर्न उहाँले सिकाउनुभयो। अब म जुनसुकै परिस्थितिमा पनि मजबुत भएर सम्हालिन्छु।’
शहनाजलाई ‘बिग बोस १३’बाट चर्चा मिलेको थियो। यही समय उनले सलमानलाई भेटेकी हुन्।
सलमानको फिल्ममपछि शहनाज जोन अब्रहामको ‘१०० प्रतिशत’मा देखिनेछिन्। उक्त फिल्ममा रितेश देशमुख र नोरा फतेही पनि मुख्य भूमिकामा रहेका छन्। यसैगरी ‘बिग बोस’को प्रिमियर एपिसोडमा पनि शहनाज देखिनेछन्। आगामी अक्टुबर १ बाट ‘बिग बोस’ प्रसारण हुँदैछ।