मनाङ- हिउँदमा अत्यधिक चिसो र हिमपात पर्ने भएकाले माथिल्लो मनाङवासी जाडो र हिमपात छल्न बेंसी झर्ने गर्छन्। वर्षायाममा पानी पर्ने हुँदा यहाँको पर्यटकीय गतिविधि र विकासनिर्माणका काम पूर्ण रुपमा ठप्प हुने गर्छ।
हिमाली जिल्ला मनाङमा जाडोयाममा हिमपातले विकासनिर्माणको काम तथा पर्यटन व्यवसायका कामकारवाही गर्न सकिँदैन। आवश्यक सामग्री ढुवानी तथा विकासका कार्य गर्दा पहिले हिउँ फाल्नुपर्ने समस्या हुन्छ। विकासको काम सकिनुभन्दा बढी हिउँ फाल्दा खर्च बढी लाग्न सक्ने भएकाले हिउँदमा पनि विकासका कार्य गर्न सकिँदैन। वर्षायाममा कहिले पनि पानी नपर्ने हिमाली जिल्ला मनाङमा पानी परेर बाढीपहिरोे आएपछि विकासका कार्य गर्न सकिदैन।
गत असारदेखि यता परेको वर्षाले गर्दा यहाँ धेरै क्षति बेहोर्नुपरेको छ। पानी नपरे पनि पहिरो खस्ने गरेको विकट जिल्ला मनाङमा यस वर्ष वर्षा भएपछि धेरै भौतिक क्षति भयो। पुनःनिर्माणको काम अझैसम्म पनि पूरा भएको छैन।