पाकिस्तान । पाकिस्तानी प्रधानमन्त्री इमरान खानले शनिबार बालअधिकार कायम राख्न र देशका प्रत्येक बालबालिकाको राम्रो भविष्य सुनिश्चित गर्ने सरकारको प्रतिबद्धता दोहोर्याएका छन् । प्रधानमन्त्रीले विश्व बाल दिवसका अवसरमा जारी शुभकामना सन्देशमा पाकिस्तान सरकार विकास, शिक्षा, स्वास्थ्य सेवा, सहभागिता, मर्यादा र सुरक्षा लगायतका प्रत्येक बालबालिकाको अधिकारलाई सुनिश्चित गर्न कटिबद्ध रहेको बताएका हुन् ।
हामी पाकिस्तानमा बालबालिकाको अधिकारको संरक्षण र उनीहरूलाई पाकिस्तानको उत्पादक नागरिक बन्नको लागि समान अवसरहरू प्रदान गर्ने हाम्रो प्रतिबद्धतालाई पुन: पुष्टि गरौं," खानले भने । उनले वर्तमान सरकारले मुलुकमा बालअधिकारको संरक्षणका लागि राष्ट्रिय बालअधिकार आयोगको स्थापनालगायत विभिन्न पहल गरेको बताउँदै बाल संरक्षण संस्थानको स्थापना र विभिन्न ऐनहरू निर्माण गरिरहेको समेत उल्लेख गरेका छन् ।
यसैगरी अन्य कल्याणकारी उपायहरू, जस्तै कुपोषित बालबालिकालाई पोषण सहयोग र हेल्थ कार्डहरू मार्फत विश्वव्यापी स्वास्थ्य सेवा पनि शुरु गरिएको प्रधानमन्त्रीले बताएका छन् । साथै, भावी पुस्तालाई ध्यानमा राखेर स्वच्छ र हरित पाकिस्तानको पहल शुरु गरिएको पनि उनले उल्लेख गरेका छन् ।