जाजरकोट । मौसम चिसिएर हिउँ परेपछि माथिल्लो डोल्पावासीको दैनिकी कष्टकर बनेको छ ।
राज्यको खास ध्यान नपुगेको उपल्लो डोल्पा राज्यको असमान आर्थिक बाँडफाँड प्रणालीका कारण राज्यको अनुभूती गराउन नसकेको डोल्पावासी बताउँछन् । मध्यपहाड र तराईका क्षेत्रमा तीन प्रकारको मौसम पाइए पनि उपल्लो डोल्पामा सधै एकैनासको हुने गर्छ ।
झण्डै चार महिना हिउँले ढाकेको अवस्थामा रहने उपल्लो डोल्पा बाँकी दिनमा समेत चिसो मौसमकै रुपमा आफ्नो परिचय बनाउँदै आएको छ।
डोल्पोबुद्ध गाउँपालिका १ धोमा बस्दै आएका पेमा गुरुङ भन्छिन्, ‘पशुचौपायलाई जम्मा गरी राखेको उवाको पराल खुवाउने र मानिसहरू घरभित्र थुनिएर बस्नु पर्ने बाध्यता छ ।
छिमेकी गाउँमा जान सक्ने अवस्था छैन, हिउँले बाटो बन्द गरेको छ । भारी हिमपातले बाटोको निसाना नै पुरिदिएकाले अन्य ठाउँमा जाने सम्भावना देखिदैन ।’ बिरामी पर्दा समेत डोकोमा बेकेर उपचारमा लैजानु पर्ने उनले बताए ।