काठमाडौँ - चलचित्र प्रेमगीत ३ का नायक प्रदीप खड्काले चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीको राजीनामा मागेका छन्। कात्तिक १ गतेदेखि लागू हुने गरी राति ११ बजेदेखि चलचित्र हल बन्द हुने निर्णय गरेको भन्दै खड्काले केसीको राजीनामा मागेका हुन्।
विकास बोर्डको यो निर्णय असोज ७ गतेदेखि विश्वभर रिलिज हुन लागेको प्रेमगीत-३ प्रति लक्षित भएको खड्काको आरोप छ। आज काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा खड्काले भनेः उनले (भुवन केसीले) राजीनामा दिंदा इज्जत बढ्छ। मदिरा सेवन गर्दै हेरिने डान्सबार रातभर खुल्ला हुने तर कफी र पपकर्न खाँदै हेरिने चलचित्र हल बन्द गर्ने निर्णय गलत भएको उनले बताएका छन्।
नेपाली चलचित्रका निर्माताको हकहितको पक्षमा निर्माता संघ पनि नबोलेको भन्दै खड्काले यस्तै अवस्था रहे समानान्तर निर्माता संघ बनाउने चेतावनी पनि दिएका छन्।
चलचित्र सम्बन्धी नीति बनाउने व्यक्ति बौद्धिक नहुँदा निर्माता र कलाकारहरुले दुःख पाइरहेको उनले बताएका छन्।