मङ्गलसेन नगरपालिकाद्वारा वडावडामा घुम्ती सेवा सञ्चालन

अछाम - मङ्गलसेन नगरपालिकाले नागरिकलाई उनीहरूको घरदैलोमै आफ्नो सेवा प्रवाह गर्न सुरुआत गरेको छ। नगरपालिकाका विभिन्न शाखाबाट प्रवाह हुने सेवा स्थानीयलाई सहज होस् भन्दै नगरपालिकाले एकीकृत घुम्ती सेवा शिविर सञ्चालन गरी सेवा प्रवाह सञ्चालन गरिराखेको हो। 

घरआँगनमै पुगेर सेवा दिने लक्ष्यसहित कार्यक्रम सुरुआत गरेको मङ्गलसेन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बाबुराम पौडेलले बताए। नगरपालिकाले यही साउन ५ बाट एकीकृत घुम्ती शिविर नगरको वडा नम्बर १ र २ बाट सुरुआत गरेको थियोे। हालसम्म ११  वडामा घुम्ती शिविर सम्पन्न भएको र बाँकी रहेका तीन वटा वडा नम्बर ३, ४ र ५ मा पनि लगत्तै घुम्ती शिविर सञ्चालन हुने प्रशासकीय अधिकृत पौडेलले जानकारी दिए।

शिविरमा नगरपालिकाका सबै शाखाबाट हुने सेवा प्रवाह गरेको थियो। एकीकृत घुम्ती शिविरमा नगरले शाखा स्थापना गरी वडाका सेवाग्राहीलाई सेवा प्रदान गरेको हो। सामाजिक सुरक्षा लाभग्राहीको हालसम्म नवीकरणअन्तर्गत ६८ वर्ष बढी उमेर पुगेका नागरिक एक हजार तीन सय ५७ , ज्येष्ठ दलित दुई सय ८३ , ज्येष्ठ एकल एक सय ६० , विधवा चार सय एक , पूर्ण अपाङ्ग (क) वर्ग  आठ , (ख) वर्ग अपाङ्ग ३७ , बालबालिका क्षेत्र तोकिएका नौ सय ३६ बालबालिका दलित तीन सय ७३ जनाले नवीकरण गरेका छन् भने ९१ नयाँ दर्ता भएका छन्। गत वर्षको अन्तिम त्रैमासिकमा लाभग्राही सङ्ख्या पाँच हजार नौ सय ८४ जना कायम भएको प्राविधिक होमबहादुर साउदले बताए।

त्यस्तै एकीकृत सम्पत्ति कर (मालपोत) बुझाउने तथा व्यापार व्यवसाय दर्ता ११ वडामा एक हजार एक सय सात जनाले गरेका छन्। यसमा दुई लाख ३७ हजार सात सय ८४ राजस्व सङ्कलन गरिएको छ। मंगलसेन नगरबासीको समस्यालाई मध्यनगर गरी हरेक वडामा सेवा प्रवाह गर्ने उद्देश्यले घुम्ती शिविर माफर्त कार्यक्रम अघि सारिएको नगरपालिकाले जनाएको छ। 

नगरपालिकासम्म जानुपर्ने बाध्यतालाई हटाएर आफूले आफ्नो घर आँगनमै सेवा पाउँदा खुशी महसुस भएको मङ्गलसेन –६ का गङ्गाराम भण्डारीले बताए। नगरपालिकाले सञ्चालन गरेको घुम्ती सेवा शिविरले नगरपालिकाबाट टाढा रहेको वडा नम्बर १३ बस्तीको बाँडा, डाँडीगडे, कालागाँका नागरिकले गाउँमै सेवा पाएपछि उनीहरु खुसी भएका छन्।
 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×