काठमाडौँ - सन् २०१९ को सुपरहिट साइकोलोजिकल फिल्म ‘जोकर’को सिक्वेल बन्ने भएको छ। फिल्मका निर्देशक टड फिलिप्सले यसको पुष्टि गरेका हुन्।
निर्देशक फिलिप्सले सामाजिक सञ्जालमा फिल्मको स्क्रीप्टको कभरको तस्बिर राख्दै हाल आफू जोकरको सिक्वेलमा काम गरिरहेको बताएका छन्। उनकाअनुसार फिल्मको नाम भने ‘जोकरः फोली अ ड्युक्स’ रहनेछ।
फिल्मको सिक्वेलको घोषणा गर्दै उनले ‘जोकर’का अभिनेता ज्याक्विन फोनिक्सको तस्बिर पनि सार्वजनिक गरेका छन्। निर्देशक टडले पुष्टि गरेसँगै ‘जोकर’को सिक्वेलका रुपमा बन्ने ‘जोकरः फोली अ ड्युक्स’मा ज्याक्विन नै मुख्य भूमिकामा रहनेछ। फिल्मको लेखनमा पहिले टडले सहकार्य गरेका स्कट सिल्भर पनि छन्।
फिलिप्सको मौलिक ‘जोकर’ फिल्मले प्रतिष्ठित पात्र ब्याटम्यानको खलपात्रलाई कमेडी अभिनयमा संघर्षरत आर्थर फ्लेक नामक पात्रको एन्टी-हिरो चरित्रमा चित्रण गर्छ। उसले गोथाम सहरमा हिंसा हुनबाट जोगाउँछ।
जोकरले विश्व बक्स अफिसमा एक बिलियन डलर कमाइ गरेको थियो। यो फिल्मले नेपालमा समेत राम्रो चर्चा बटुलेको थियो। साथै यो फिल्म उत्कृष्ट फिल्म, निर्देशक र एडप्टेड पटकथासहितको १२ विधामा ओस्कार अवार्डमा मनोनित भएको थियो।
फिल्मको कथा के हुने भन्ने बारेमा हालसम्म नखुलेको भएपछि फिल्मको सिक्वेललाई नाम दिएअनुसार एकै परिवारका दुई वा त्यो भन्दा धेरै व्यक्तिमा भएको मानसिक अवस्थालाई फिल्ममा चित्रण गरिन सक्ने अनुमान गरिएको छ।