काठमाडौँ - बागमती प्रदेशसभाको आज बसेको पहिलो बैठकमा दुई वटा विधेयक पारित गरिएको छ। बैठकमा प्रदेश पर्यटन विकासको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र उच्च शिक्षा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित भएको थियो।
सोही बैठकमा सम्बन्धित समितिको प्रतिवेदनसहित प्रस्तुत गरेको प्रदेश उच्च शिक्षा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सामाजिक विकासमन्त्री कुमारी मोक्तानका तर्फबाट आर्थिक मामिला तथा योजनामन्त्री शालिकराम जम्कट्टेलले प्रस्तुत गरेका थिए।
सम्बन्धित समितिको प्रतिवेदनसहितको प्रदेश पर्यटन विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पर्यटन तथा संस्कृतिमन्त्री दीपेन्द्र श्रेष्ठका तर्फबाट उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मिलनबाबु श्रेष्ठले प्रस्तुत गरेका थिए। पारित भएको दुवै विधेयक ऐन बन्ने छन्।
बैठकले प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री कृष्णप्रसाद शर्मा खनालले केही प्रदेश ऐन, प्रदेश विपद् व्यवस्थापन ऐन, २०७५ र प्रदेश सञ्चार माध्यम व्यवस्थापन ऐन, २०७५ संशोधनका लागि प्रस्ताव पेश गरेका थिए। उनले संशोधनका लागि पेश गरेको विधेयक सम्बन्धित समितिमा दफावार छलफलका लागि पठाइएको छ। मन्त्री खनालले प्रदेश अनुसन्धान ब्यूरो सेवाको गठन, स्थापना, काम कर्तव्य र अधिकारको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सदनमा पेश गरे। उनले पेश गरेको सो विधेयक माथि सदनमा छलफल हुनेछ।