पशु शिविरमा २२१ कुकुरको बन्ध्याकरण

काठमाडौँ । भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र तनहुँले सञ्चालन गरेको पशु शिविरमा २२१ कुकुरको बन्ध्याकरण गरिएको छ।

केन्द्रले मङ्गलबार र बुधबार आयोजना गरेको निःशुल्क पशु शिविरमा कुकुरको बन्ध्याकरण गरिएको हो। व्यास नगरपालिका क्षेत्रभित्र रहेका सामुदायिक कुकुरको सङ्ख्या घटाउन बन्ध्याकरण शिविर सञ्चालन गरिएको केन्द्रका प्रमुख डा. बालकुमार श्रेष्ठले जानकारी दिए। नगरक्षेत्रभित्र जथाभावी रुपमा सामुदायिक कुकुर छाडिँदा समस्या भएपछि केन्द्रले त्यस्ता कुकुरको बन्ध्याकरण गरेको हो। मङ्गलबार ८५ र बुधबार १३६ कुकुरको बन्ध्याकरण गरिएको छ। साथै, ती कुकुरलाई रेविजविरुद्धको खोप पनि लगाइएको छ।

व्यासका वडा नं १, २, ३, ४, ५ र ७ सम्म पुगेर सामुदायिक कुकुरलाई नियन्त्रणमा लिइएको थियो। कुकुर पाल्ने र पछि जथाभावी रूपमा छाडिदिने समस्या बढेपछि तनहुँमा दर्ता गरेर मात्रै कुकुर पाल्न पाउने नियम लागू गर्न लागिएको छ। केन्द्रले व्यासभित्र दर्ता गरेर मात्रै कुकुर पाल्न पाउने नियम लागू गर्न लागेको हो।

कार्यालयले यस वर्ष व्यास नगरपालिकालाई रेविजमुक्त बनाउन अभियान पनि सञ्चालन गर्न लागेको छ। केन्द्रका प्रमुख डा. श्रेष्ठका अनुसार उक्त नगरपालिकाभित्र रहेका सामुदायिक तथा घरपालुवा कुकुरको विवरण पनि सङ्कलन गरिनेछ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×