गण्डकी - गण्डकी प्रदेशमा संसदीय मामिलामा कलम चलाउने सञ्चारकर्मीको टोलीले सुदूरपश्चिम प्रदेश प्रदेशसभामा भइरहेका संसदीय गतिविधि, कानुन निर्माण प्रक्रियालगायतका विषयमा स्थलगत जानकारी लिएको छ।
संसदीय पत्रकार मञ्च गण्डकी प्रदेशको आयोजना एवं गण्डकी प्रदेशको कानुन, सञ्चार तथा प्रदेशसभा मामिला मन्त्रालयको सहयोगमा क्षमता अभिवृद्धिका लागि अध्ययन, अवलोकन र अनुभव आदान–प्रदानसहितको तालिमअन्तर्गत जारी अवलोकन भ्रमणका क्रममा सुदूरपश्चिम प्रदेशमा त्यहाँका सभामुख तथा सरोकारवालाबीच छलफल गरी भइरहेका संसदीय गतिवधिबारे जानकारी लिइएको हो। छलफलका क्रममा शनिबार सुदूरपश्चिम प्रदेशसभाका सभामुख अर्जुनबहादुर थापाले सुदूरपश्चिममा कानुन निर्माणका क्रममा के सत्तापक्ष के पक्ष–प्रतिपक्ष सबैले एकताबद्ध प्रयास गर्ने गरेको अनुभव सुनाए। सबै विधेयकहरू समितिमा व्यापक छलफल गरेर ल्याउने गरिएको जनाउँदै उनले कानुनको कार्यान्वयन भने अपेक्षितरूपमा प्रभावकारी बन्न नसकेको बताए।
संसद्लाई जनतासँग लैजाने कुरालाई आफूहरूले प्राथमिकता दिएको बताउँदै उनले विद्यार्थीलाई पनि संसदीय गतिविधि तथा कानुन निर्माणबारे जानकारी गराउनेजस्ता कार्यक्रम सञ्चालन गरिएको जानकारी दिए। कोरोना महामारीलगायतका समस्यामा प्रदेशको आवश्यकता र औचित्य थप पुष्टि भइरेको बताउँदै उहाँले यसलाई बलियो बनाएर लैजानुपर्ने आवश्यकता औँल्याए। प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री डा रणबहादुर रावलले सङ्घीयताको मर्म र भावनाअनुसार शक्ति हस्तान्तरण हुनुपर्ने भए पनि अझै त्यसअनुरुप हुन नसकेको बताए। सङ्घका कतिपय कानुन बन्न नसक्दा प्रदेशका कानुन निर्माणमा समस्यासँगै कार्यान्वयनमा पनि प्रभाव परेको उनले बताए।
संसदीय पत्रकार मञ्च गण्डकी प्रदेशका कावा अध्यक्ष अमृत सुवेदीले गण्डकी प्रदेशसभामा हुने गरेका संसदीय गतिविधि, संसद् र सञ्चारकर्मीबीचको सम्बन्धलगायतमा जानकारी गराए। यसअघि लुम्बिनी तथा कर्णाली प्रदेशमा पनि यस्तै किसिमको छलफल र अन्तरक्रिया गरिएको उनले जानकारी दिए। मञ्चका सचिव रोहितराज पराजुलीका अनुसार गत बिहीबारदेखि अध्ययन र अवलोकन भ्रमणमा निस्केको टोली आज पोखरा फर्कने कार्यक्रम छ।