पोखरेलले चुनौती दिएपछि ओली कडाभन्दा कडा : ‘सूची म बनाउँछु’

काठमाडौँ । नेकपा एमालेको आसन्न एघारौँ महाधिवेशन नजिकिँदै गर्दा अध्यक्ष केपी शर्मा ओली पार्टीभित्रको सम्भावित ध्रुवीकरण रोक्न सक्रिय भएका छन्। प्रतिस्पर्धी आकांक्षा बढ्दै गएपछि उनले भक्पुरको गुन्डुस्थित आफ्नो नयाँ निवासमै केन्द्रीय सदस्यहरूलाई बोलाउँदै सूची आफ्नै नेतृत्वमा तयार गरिने बताएका छन्।

गण्डकी प्रदेशका केही केन्द्रीय सदस्यसँग मंगलबार भएको भेटमा ओलीले ‘सबैलाई समेट्ने’ सूची आफैले बनाउने र सबैले त्यसैमा भोट हाल्नुपर्ने बताएका एक नेता बताउँछन्। उनका अनुसार ओलीले यसपटक पनि अध्यक्षदेखि पदाधिकारीसम्मको नामावली एकीकृत रुपमा पेश गर्ने तयारी गरेका छन्।

ओली पक्षका नेताहरूका अनुसार अध्यक्ष ओलीमा “मलाई मात्र भोट हालेर अरू पदमा मत नहाल्लान्” भन्ने आशंका देखिएको छ। त्यसैले उनले भेटमा स्पष्ट रूपमा भनेका थिए, “मलाई मात्रै हाल्ने सोच बनाएको हो भने मलाई पनि हाल्नु पर्दैन। सबैलाई हाल्ने हो, सूचीमै भोट हाल्नू।”

महाधिवेशनमा अध्यक्षमा निरन्तरताको दाबी गरिसकेका ओलीलाई वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले चुनौती दिँदैछन्। पोखरेलले छिट्टै पत्रकार सम्मेलन गरी औपचारिक उम्मेदवारी घोषणा गर्ने तयारी गरेका छन्, जसले UML भित्रको प्रतिस्पर्धा थप तिक्त बन्न सक्ने आकलन गरिन्छ।

यसैबीच महासचिव पद UML भित्र सबैभन्दा पेचिलो बनेको छ। शंकर पोखरेल, प्रदीप ज्ञवाली र पृथ्वीसुब्बा गुरूङ सबैले महासचिवमा दाबी गरिरहेका छन्। उपाध्यक्ष विष्णु पौडेलले समेत महासचिव पदमै आकांक्षा देखाएका छन्।

प्रदेश र जिल्लास्तरमा प्रतिनिधि चयन विवाद पनि बढिरहेको छ। ओखलढुंगा, दाङ र सल्यानमा मतभेद चर्किँदा केही स्थानमा पुनः मतदानको निर्देशनसमेत आएको छ। गण्डकी र लुम्बिनी क्षेत्रका प्रतिनिधि UML नेतृत्वसँग ‘रूष्ट’ देखिँदा केन्द्रमा मत बाँडिन सक्ने संकेतहरू उजागर हुन थालेका छन्।

विधान महाधिवेशनले पदाधिकारी संख्या १९ बाट घटाएर १५ पुर्‍याएकोले आकांक्षी व्यवस्थापन अध्यक्ष ओलीका लागि थप चुनौतीपूर्ण बनेको नेताहरूको बुझाइ छ। महाधिवेशन आउन अब १० दिन बाँकी छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×