४० करोड लागतमा बङकरसहितकाे प्रधानमन्त्रीको निजी निवास निर्माण सम्पन्न

काठमाडाैं । बालुवाटारस्थित प्रधानमन्त्रीको निजी निवासको निर्माण कार्य सम्पन्न भएको छ । अत्याधुनिक सेवा सुविधा भएको निजी निवासमा सुरक्षाको दृष्टिकोणले बङ्करसमेत निर्माण गरिएको छ । सोमबार विशेष वास्तु पूजा गरी प्रधानमन्त्रीको निजी निवास नवनिर्मित भवनमा स्थानान्तरण हुँदैछ ।

बालुवाटारमा रहेको पुरानो संरचनालाई भत्काएर दुईवटा भवन निर्माण गरिएका छन् । एउटा भवन प्रधानमन्त्रीको निजी निवासका लागि र अर्को सार्वजनिक भवनका रूपमा निर्माण गरिएको हो । निजी निवास भवन निर्माण सम्पन्न भइसकेको छ भने सार्वजनिक भवन निर्माण अन्तिम चरणमा पुगेको सहरी विकास मन्त्रालयअन्तर्गतको विशेष भवन निर्माण आयोजना समन्वय कार्यालयले जनाएको छ ।

विशेष भवन निर्माण आयोजना समन्वय कार्यालयका प्रमुख दिलीपशेखर श्रेष्ठले बालुवाटारस्थित प्रधानमन्त्री निवास परिसरमा निर्माण भइरहेको दुईवटा भवनमध्ये प्रधानमन्त्रीको निजी निवास भवनको निर्माण सम्पन्न भइसकेको जानकारी दिए। वास्तु पूजा भइसकेपछि प्रधानमन्त्री नयाँ भवनमा सर्ने कार्यक्रम रहेको छ । सार्वजनिक भवनको भौतिक प्रगति ८५ प्रतिशत भएको छ । सो भवन चालू आर्थिक वर्षको असार मसान्तभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

दुवै भवन तीन÷तीन तलाका छन् भने दुईवटै भवनमा लिफ्ट प्रणाली जडान गरिएको छ । पञ्चायतकालमा निर्माण गरिएको अहिलेको प्रधानमन्त्री निवासमा भूकम्पले क्षति पु¥याएको तथा क्षेत्रफल पनि साँघुरो भएकाले नयाँ भवन निर्माण गर्नुपरेको बताइएको छ । एक रोपनी क्षेत्रफलमा फैलिएको सो भवनको भुइँतलामा विभिन्न प्रयोजनका लागि १० वटा युनिट निर्माण गरिएका छन् ।

पहिलो तलामा मुुख्य शयन कक्ष, परिवारका लागि अर्को शयन कक्ष, पारिवारिक कोठा, प्रधानमन्त्रीको अध्ययन कक्ष, पूजा कोठा, होम थिएटर, लबी, जिम हल, बाल्कोनीसहित १५ युनिट निर्माण गरिएका छन् । दोस्रो तलामा अति विशिष्ट पाहुनाका लागि तीनवटा शयन कक्ष, उहाँहरूको सुरक्षाकर्मीका लागि कक्ष, पाहुनाका सहयोगीका लागि कोठा, डाइनिङ र किचन र लबिसहित ११ युनिट निर्माण गरिएका छन् ।

त्यसैगरी सार्वजनिक प्रयोजनका लागि दुई रोपनी क्षेत्रफलमा निर्माण भइरहेको सार्वजनिक भवनको भुइँतलामा अति विशिष्ट भेटघाट कक्ष, मन्त्रिपरिषद्को आकस्मिक बैठक कक्ष, सञ्चार केन्द्रलगायतका १४ युनिट निर्माण भइरहेका छन् । दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी २०७६ भदौ १२ गते निर्माण सम्झौता भएको सो भवनको लागत ४० करोड रुपियाँ रहेको छ । गोरखापत्र दैनिकमा भउचप्रसाद यादवले खबर लेखेका छन् ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×