काठमाडौँ - अवैधानिक माध्यमबाट अमेरिका ल्याइएका नेपाली काष्ठकलाका सामग्री नेपाल फिर्ता पठाइएको छ। अमेरिकाको डिपार्टमेन्ट अफ होमल्यान्ड सेक्युरिटीले जफत गरी मङ्गलबार नेपाली काष्ठकलाका ४० सामग्री नेपाल पठाइएको हो।
वाशिङ्गटन डिसीस्थित नेपाली नियोगका अनुसार अवैधरूपमा सन् २०१० मा अमेरिकाको हवाई राज्यमा ल्याइपुर्याएका ती सामग्री भन्सार तथा बोडर प्रोक्टेक्सन (सिविपी)ले बरामद गरेको हो। उक्त सामग्री गत मे महिनाको ११ तारिखमा वाशिङ्गटन डिसीस्थित नेपाली दूतावासलाई हस्तान्तरण गरिएको थियो।
दूतावासले ऐतिहासिक महत्त्वका ती सामग्री नेपाल पठाउन पहल गरेकामा अमेरिकी सरकारी निकायप्रति हार्दिक आभार प्रकट गरेको छ। सन् २०२२ को अप्रिलदेखि अहिलेसम्म नेपालबाट अवैधानिक माध्यमबाट अमेरिका ल्याइएका ४७ सामग्री नेपाल फिर्ता पठाइसकिएको छ।
कतार एयरवेजको कार्गोको सहयोगमा नेपाल ल्याउन लागिएका ती सामग्री शनिबार काठमाडौँ आइपुग्ने बताइएको छ।