काठमाडौँ - जर्मनीकी तात्जना मारियाले पछाडि परेको स्थिति उल्टाउँदै जुली निमिरलाई ४-६, ६-२, ७-५ ले हराएर पहिलोपल्ट ग्रान्ड स्लाम टेनिसको सेमिफाइनल स्थान बनाएकी छिन्।
विम्बल्डन टेनिसको अन्तिम चारमा पुगेकी ३४ वर्षीया उनी दुई सन्तानकी आमा हुन्। उनले फाइनल प्रवेशका लागि तेस्रो वरीयताकी ओन्स जाबेर वा म्यारी बोज्कोभासँग प्रतिस्पर्धा गर्नेछिन्।
‘ओपन एरा’ मा तेस्रोपल्ट जर्मनीका दुई खेलाडीबीच क्वाटरफाइनलमा प्रतिस्पर्धा भएको हो। निमिरले सुरुबाट खेलमा नियन्त्रण राखेकी थिइन् र पहिलो सेट जितिन् पनि। २२ वर्षीया उनले दोस्रो सेटमा पनि राम्रो सुरुवात गरिन्। तर, त्यसपछि मारियाले उत्कृष्ट पुनरागमन गर्दै तीनपल्ट उनको सर्भिस ब्रेक गरेर खेल बराबरी गरिन्।
विश्व वरीयतामा ९७ स्थानकी निमिरले निर्णायक तेस्रो सेटमा पनि उत्कृट खेल्दै ४-२ को अग्रता लिएकी थिइन्। तर, मारियाले ४-४ को बराबरी गर्दै अन्त्यमा ७-५ को जित रच्दै सेमिफाइनल यात्रा तय गरिन्।
जर्मन भेट्रान मारियाले अघिल्लो चरणमा २ ‘म्याच प्वाइन्ट’ जोगाएकी थिइन्। सन् २००७ मा ग्रान्डस्लाम टेनिसमा डेब्यु गरेकी उनी यो वर्षको बिम्बल्डनअघि ग्रान्ड स्लाममा कहिल्यै तेस्रो चरणभन्दा माथि उक्लिएकी थिइनन्।