काठमाडौँ - जमैकाकी शेल्ली-आन फ्रेजर-प्रायसले अमेरिकामा जारी विश्व च्याम्पियनसीप अन्तर्गत महिलाको १०० मिटर दौडमा स्वर्ण जितेकी छिन्।
१०० मिटर दौडमा जमैकाका खेलाडीले क्लिन स्विप गरेका छन्। फ्रेजर-प्रायसले १०.६७ सेकेन्डमा स्वर्ण जित्दा जमैकाकै शेरिका ज्याकसनले रजत तथा इलाइने थम्पसन-हेराहले कास्य हात पारेका छन्।
गत वर्षको टोकियो ओलम्पिकमा पनि महिलाको १०० मिटरमा तीनै जनाले पदक जितेका थिए। विश्वच्याम्पियनसीप अन्तर्गत महिलाको १०० मिटर दौडमा कुनै पनि देशले क्लिन स्विप गर्ने यो पहिलो अवसर हो। यसअघि पुरुषको १०० मिटर दौडमा अमेरिकाले क्लिन स्विप गरेको थियो।
फ्रेजर-प्रायसको यो विश्व च्याम्पियनसीपको पाँचौं स्वर्ण पदक हो।