काठमाडौँ। कोरोना महामारीको तेस्रो लहर विस्तारै मत्थर बन्दै जान थालेको छ। तीव्र गतिमा फैलिएको कोरोना संक्रमण तीन दिनयता ओरोलो झरेको छ। माघको पहिलो सातादेखि अत्यधिक मात्रामा फैलिएको कोरोना संक्रमण ८ माघमा २० हजार ८ सय ८७ जनाको नमुना परीक्षण गरेकोमा १० हजार २ सय ५४ जना संक्रमित भएका थिए।
नमुना परीक्षणमध्ये झन्डै आधामा कोरोना संक्रमण देखिएको थियो। तर, १२ माघ यता कोरोना संक्रमणदर बिस्तारै मत्थर बन्दै जान थालेको छ। १२ माघमा २० हजार ३ सय ५९ जनाको नमुना परीक्षण गर्दा ८ हजार ४ सय १४ जनामा कोरोना संक्रमण देखिएको थियो। १३ माघमा २१ हजार ८ सय ८ जनामा नमुना परीक्षण गर्दा ८ हजार १७ जनामा संक्रमण देखियो। जुन अघिल्लो दिनको तुलनामा कम हो। १६ माघसम्म आइपुग्दा १३ हजार १ सय ४५ जनामा परीक्षण गराउँदा ३ हजार ५ सय ४० जनामा संक्रमण देखिएको छ। यो संख्या यो महिनाकै नमुना परीक्षणपछि सबैभन्दा कम संख्या हो।
कोरोना संक्रमण दर दैनिक अप्रत्याशित ढंगबाट बढेमा अस्पतालमा भर्ना हुने संख्या पनि बढ्न सक्ने आँकलन चिकित्सकहरूले गरेका थिए। तर, माघको दोस्रो साताबाटै कोरोना संक्रमण दर घटेको छ। स्वास्थ्य मन्त्रालयकी प्रवक्ता डा. संगीता मिश्रका अनुसार गत साताको तुलनामा यो साता कोरोना संक्रमणको औसत दरमा कमी आएको छ। पछिल्लो हप्ताको तुलनामा संक्रमण दर ५ दशमलव ६ प्रतिशतले घटेको छ।
गत सातादेखि नेपालमा मात्रै नभई हाल विश्वमै कोरोना संक्रमण दर घटिरहेको छ। इपीडीमीयोलोजी तथा रोग नियन्त्रण महाशाखाका महानिर्देशक डा. कृष्णप्रसाद पौडेलका अनुसार छिमेकी देश भारतलगायत विश्वका अन्य देशमा जसरी संक्रमण दर बढिरहेको थियो। संक्रमित हुने संख्या विस्तारै घटिरहेको पौडेल बताउँछन्।
तेस्रो लहरमा सोमबारसम्म सक्रिय संक्रमितको संख्या ७९ हजार २ सय ७२ जना छन्। आईसीयूमा २ सय ८८ जना र भेन्टिलेटरमा ५० जना छन्। दोस्रो लहरमा जेठ ७ गते सक्रिय संक्रमितको संख्या १ लाख १६ हजार १ सय ९२ पुगेको थियो। सोही दिन १ सय ७७ जनाको मृत्यु हुनुका साथै आईसीयूमा १ हजार ७ सय १६ र भेन्टिलेटरमा ५ सय ११ जना थिए।
४६.८ प्रतिशतलाई पूर्ण खोप
सोमबारसम्म कुल जनसंख्याको ४६.८ प्रतिशत अर्थात् १ करोड ४२ लाख ४ हजार २ सय ७० जनाले पूर्ण मात्रा खोप लगाएका छन्। एक मात्रा लगाउने ५४.९ प्रतिशत अर्थात् १ करोड ६६ लाख ७० हजार ७ सय ७ जना छन्। हालसम्म ३ लाख ६९ हजार २ सय २६ जनाले बुस्टर डोज लगाएका छन्। आजको राजधानी दैनिकमा छापिएको छ।