काठमाडौँ - कतारमा मंसिर ४ गतेदेखि सुरु हुने विश्वकप फुटबलमा कूल ८३१ खेलाडीको सहभागिता रहने भएको छ। विश्व फुटबल महासंघ (फिफा) ले विश्वकपमा सहभागी देशले मंगलबारसम्म अन्तिम खेलाडीको नाम दर्ता गराईसक्नु पर्ने प्रावधान राखेको थियो।
जसअनुसार मंगलबारसम्म विश्वकपका लागि सहभागी ३२ देशले कूल ८३१ खेलाडी दर्ता गराएका हुन्। मंगलबारसम्म सहभागी सबै देशले आफ्नो अन्तिम टोलीको घोषणा समेत गरिसकेका थिए। फिफाले सार्वजनिक गरेको सुची अनुसार यस विश्वकपमा सबैभन्दा कम २५ जना खेलाडी इरानले दर्ता गराएको छ।
अन्य सबै टोलीले २६ जना खेलाडी दर्ता गराएका छन्। फिफाले कोभिड-१९ पछि टोलीका २६ जना खेलाडी राख्न पाउने नयाँ प्रावधान राखेको छ। यसअघि अन्तिममा २३ खेलाडी राख्ने प्रावधान थियो। यस विश्वकपमा विश्व फुबटलका २ चर्चित खेलाडी अर्जेन्टिनाका ३५ वर्षीय लियोनल मेस्सी र पोर्चुगलका ३७ वर्षीय क्रिस्टियानो रोनाल्डो पाँचौं पटक विश्वकप खेल्दै छन्। कप्तानको भूमिकामा रहेका दुवै जनाका लागि यो अन्तिम विश्वकप हुने बताईएको छ।
एक महिना चल्ने विश्वकपमा सहभागी ३२ देशलाई ८ समूहमा विभाजन गरिएको छ। समूहका शीर्ष २ टोली नकआउट चरणमा प्रवेश गर्नेछन्। त्यसपछि ८ टोली क्वाटरफाइनल, ४ टोली सेमिफाइनल हुँदै २ टोलीले डिसेम्बर १८ तारिख फाइनल खेल्नेछन्। सेमिफाइनलमा पराजित टोलीबीच डिसेम्बर १७ तारिख तेस्रो स्थानका लागि प्रतिस्पर्धा हुनेछ।
विश्वकप फुटबलले २१ औँ संस्करण पार गर्दा हालसम्म ८ देशलेमात्र उपाधि चुमेका छन्। विश्वकपको सर्वाधिक उपाधि चुम्ने देश ब्राजिल हो। ब्राजिलले ५ पटक उपाधि उचालेको छ। यसैगरी ब्राजिलपछि जर्मनी र इटालीले ४-४ पटक, अर्जेन्टिना, उरुग्वे र फ्रान्सले २-२ तथा इङ्गल्यान्ड र स्पेनले १-१ पटक उपाधिको स्वाद चाखेका छन्।